काठमाडौं । सुदूरपश्चिम प्रदेशको बझाङमा मंगलबार गएको ६ दशमलव ३ रेक्टर स्केलको भुकम्पपछि पराकम्म आउने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर चार दशमलव तीन तथा गए राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गत मङ्गलबार अपराह्न २:४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । दोस्रोपटक ३:०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर छ दशमलव तीन रेक्टर स्केल, ३:१३ बजे चैनपुर केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केल, ३:४५ बजे सुरमा केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । लगातार पराकम्प जारी रहेपछि स्थानीय तहहरुले जुनसुकै बेला पनि ठुलो भुकम्प आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए । यस्तै सयौँ घरमा क्षति पुगेको थियो ।