राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेका मुख्य शासकहरुले संघीयता मजबुत पारेर देश बदल्न कन्जुस्याई गर्न नहुने बताएका छन्। उनले शासकले कन्जुस्याई गर्दा स्थानीय तह र प्रदेशहरु अधिकार नपाएको पनि स्वीकारेका छन्।

अहिलेका मुख्य तीन दाहाल, केपी शर्मा ओली र शेरबहादुर देउवा रहेको भन्दै राष्ट्रपति पौडेलले उनीहरुले चाहेमा संघीयता कार्यान्वयन हुने बताए। उनले भने, ‘यहाँबाट काठमाडौं गएलगत्तै उहाँ तीनै जनालाई बोलाएर संघीयता कार्यान्वन गर्न सम्झाउँछु। अब अधिकार दिन कन्जुस्याई गर्नु हुँदैन।’

सोमबार जनकपुरधाम आएका राष्ट्रपति पौडेललाई भव्य नागरिक अभिनन्दन गरियो। उक्त समारोहमा बोल्दै राष्ट्रपति पौडेलले संघीयता कार्यान्वन भएपछि मात्र देश समृद्धिको दिशामा अगाडी बढ्ने बताए।

राष्ट्रपति पौडेलले मधेश प्रदेशलाई समृद्ध बनाए मात्र समग्र देश समृद्ध बन्ने बताए। उनले भौतिक समृद्धिसंगै आर्थिक, सामाजिक, भौगोलिक, राजनैतिक, शैक्षिक लगायतको विकास गर्नुपर्ने र यसका लागि सबैको सकारात्मक योगदान चाहिने बताए।

राष्ट्रिय एकता र रुपान्तरणमा मधेशको सबल भूमिका रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विपी कोइरालाले भनेझै राष्ट्रियताको चुरो नै मधेशमा रहेको छ भन्नेमा सधैं दृढ रहेको बताए।

मधेशको समग्र विकासले मात्र नेपालको समग्र समृद्धि र राष्ट्रिय एकता सुदृढ हुनेमा आफ्नो सधैको अटल विश्वास रहेको उल्लेख गरे। मधेश आन्दोलन र विद्रोहमा मधेशमै आएर शान्ति वार्ता गर्नेदेखि लिएर यहाँ उठेका आवाजहरुलाई यही जनक भुमिमा नै आएर २२ बुंदे सम्झौता गरेको र त्यसले संविधान निर्माणको आधारसिला खडा गरेको उनको भनाई थियो।

राष्ट्रपति पौडेल जनकपुरधाम आएलगत्तै जानकी मन्दिर पुगेर पूजापाठ गरेका थिए। उनको स्वागतका लागि जनकपुरका जताततै सडकमा सर्वसधारण उभिएका थिए। जानकी मन्दिरमा पुगेपछि महन्त रामतपेश्वर दास वैष्णव, साधुसन्त र सर्वसधारण बाजागाजासहितले स्वागत गरिएको थियो। नागरिक दैनिक बाट