यही मिति २०८० साल भदौं ७ गतेदेखि १३ गतेसम्म नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा हुन गइरहेको छ । हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दर्शैको अवसर पारेर आयोजना गर्दै आइरहेको छ । ई–आर्टस् नेपालका सह—संस्थापक आशा डङ्गोल हिमालयन आर्ट फेस्टिभलको विषयमा यसरी बताउनु हुन्छ, ‘दशैंमा धेरै मेलाहरुको आयोजना भइरहेको हुन्छ । नेपाली कलाको कमि थियो, त्यहि अवस्थालाई मनन् गर्दै नेपाली कलाकारहरुको समकालिन अवस्था र प्रोत्सानका साथ सन् २०१७ देखि यो फेस्टिभलको आयोजना गर्दै आइरहेका छाँै ।’
नेपाली कलाकृति नेपालीहरुकै घरमा सजिउन् भन्ने उद्देश्य पनि यस प्रदर्शनीले बोकेको कुरा कलाकार डंगोल बताउनुहुन्छ । पहिला पहिला नेपाली कलाकृति किन्न गाह्रो हुन्छ भन्ने थियो, तर अहिले आकर्षक मूल्यमा मध्यम वर्गिय परिवारलाई लक्षित गरी यस कला प्रर्दशनी गर्न लागिएको हो । करिब ८० भन्दा बढी कलाकारहरुले आप्mनो कला प्रदर्शनीमा राखेका छन् । नेपाली कलाकारहरुको कलाको स्तर मापनको लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने कुरा समेत सहभागी कलाकारहरु बताउनु हुन्छ । किनकी यस प्रदर्शनीमा नेपालका कलाक्षेत्र कुन ठाउँमा छ भनेर बुझ्न समेत यस प्रदर्शनीले मदत गर्दछ । कलाको विकासलाई हेर्ने आधार समेत यसले तय गर्न सक्छ ।
सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट शुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए । त्यसपछि २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरुका विभिन्न संस्थाहरुसँग कुराकानी गरेर उहाँहरुको सहयोग लिँदै थप कलाकारहरु थप्दै गएको कलाकार डंगोल बताउनुहुन्छ । यहि कारणले गर्दा पनि यो कला प्रदर्शनी एक बृहद सामुहिक मेलाको रुपमा वर्षेनी आयोजना भइहरहेको छ ।
अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ । नेपाली बरिष्ठ कलाकारहरु देखि वर्तमानका पुस्ताका कलाकारहरुको कामलाई प्रदर्शनीमा राखिएको छ । विधागत हिसावले हेर्ने हो भने ‘टु डी’ र ‘थ्री डी’ डाइमेन्सनका कलाहरु यस प्रदर्शनीमा समावेश गरिएका छन् । कलाकारहरुः कृष्ण मानन्धर, किरण मानन्धर, शशिकला तिवारी, राजन काफ्ले, आशा डंगोल, एरिना ताम्राकार, भाइराज मर्हजन, प्रदिप बज्राचार्य, प्रमिला बज्राचार्य, बिनोद प्रधान, जुपिटर प्रधान, विधाता के.सी, सागर मानन्धर, उजय बज्राचार्य, सरिता डंगोल आदिदेखि हालका युवा कलाकारहरुमा इशान परियार, सविता डंगोल, सुजन डंगोल, मुना भडेल लगायत करिब ८० जना कलाकारहरुको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ ।
प्रदर्शनीको अर्को आकर्षण भनेको एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उहाँको कलाकृतिलाई त्यहाँ राखिने कार्यक्रम समेत सन् २०१९ देखि गर्दै आइरहेको ई–आर्ट्स नेपालका सह—संस्थापक भाइराज मर्हजन बताउनुहुन्छ । यस पाली भने उक्त स्थानमा कलाकार वरिष्ठ मूर्तिकार प्राध्यापक गोविन्दनारायण ज्यापुका कलाकृतिलाई प्रदर्शनीमा राखिने कुराको जानकारी समेत उहाँले गराउनु भयो ।
हिमाल, पहाड, तराइका कलाकारहरुको सहभागिता यस प्रदर्शनीमा रहेको छ । महिला कलकारहरुको समेत उल्लेख्य सहभागिता रहेको कुरा यस प्रदर्शनीमा सहभागी अर्की कलाकार तथा ई–आर्ट्स नेपालका सह—संस्थापक एरिना ताम्राकारले बताउनु भएको थियो ।
कार्यक्रमको उद्घाटन वरिष्ठ मूर्तिकार प्राध्यापक गोविन्दनारायण ज्यापुज्यूले गर्नु हुने कार्यक्रम रहेको छ ।
सात दिनसम्म चल्ने प्रदर्शनीका विचमा विभिन्न क्रियाकलापहरु समावेश गरिएको छ । जसमा उद्घाटनको दिन बेलुकी ५ बजे प्राध्यापक गोविन्द नारायण ‘ज्यापु’ लाई सम्मान गरिनेछ । प्रदर्शनीका दौरानमा क्युरेटर प्रतिमा थकालीले कला प्रदर्शनीको भ्रमण गराउने कार्यक्रम रहेको छ भने कलाको विषयमा कुराकानी पनि हुनेछ । जसमा प्यानल छलफल हुने आयोजकले जनाएको छ । प्रदर्शनीको दौरान कलाकार प्रशान्त श्रेष्ठको सम्झनामा राखिएको प्रशान्त छात्रवृत्ति समेत तिनजना युवाकलाकारहरुलाई वितरण गरिने छ ।

कार्यक्रमको तालिका

भाद्र ७, २०८० (अगस्ट २४, २०२३ )
समयः बेलुकी ५ बजे ।
कार्यक्रमको उद्घाटन तथा प्राध्यापक गोविन्द नारायण ‘ज्यापु’ लाई सम्मान कार्यक्रम

भाद्र ९, २०८० (अगस्ट २६, २०२३)
क्युरेटर प्रतिमा थकालीद्वारा कला प्रदर्शनीको भ्रमण गराउने
समयः दिउँसो २ बजे ।

भाद्र १०, २०८० (अगस्ट २७, २०२३)
आर्ट टक÷प्यानल डिस्कसन
सञ्चालकः सुजन श्रेष्ठ
(प्यानलिस्टः प्रतिमा पाण्डे, सौरभ ज्योती, प्रज्ज्वल शाक्य, यूरोप श्रेष्ठ)
समयः दिउँसो ३ बजे

भाद्र १२, २०८०, (अगस्ट २९, २०२३)
प्रशान्त छात्रवृत्ती पुरस्कार वितरण कार्यक्रम
समयः बेलुकी ४ बजे ।

भाद्र १३, २०८० (अगस्ट ३०, २०२३)
कार्यक्रम समापन