पोखरा । पोखराको मध्य भाग भएर बग्ने खोलाको नाम हो, फिर्के । यो खोला पोखरा–१८ अँधेरीकुनादेखि सुरु भएर फेवाताल किनार गाईघाटमा गएर मिसिन्छ । बढ्दो सहरीकरणसँगै खोला मिचेर कैयौं भवन संचना निर्माण गरिएपछि फिर्के खोजी अभियान थालेको पोखरा महानगरले तीन सातादेखि सीमांकन जारी राखेको छ ।

सीमांकनमा खटिएका सर्वेक्षकका अनुसार हालसम्मको ४० वटाभन्दा बढी पक्की तथा कच्ची संरचना खोला मिचेर निर्माण गरेको पाइएको छ । कुल आठ किमी लामो खोलाको हालसम्म ६ किमीभन्दा बढी सीमांकन भई किला गाडिएको सर्वेक्षक वासुदेव पौडेलले बताए । उनका अनुसार खोला घरमै परेका धेरै संरचना भएको बताए । उनले भने, ‘हालसम्मको सीमांकनमा ४० वटाभन्दा बढी पक्की तथा कच्ची संरचना खोला मिचेर बनाएको पाइयो । अझै करिब २ किमी जति सीमांकन बाँकी छ । हेरौं अझै कति थपिन्छन् ।’

केही समयअघि फिर्केको मापदण्ड मिचेर लायन्स क्लब र एक धार्मिक समितिले पक्की भवन नै निर्माण गरेका थिए । यस्तै, पाँच समाजघरको भवन पनि मापदण्डविपरीत पाइएको छ । राजनीतिक दल तथा शक्तिकेन्द्रको आडमा लगातारको अतिक्रमणले फिर्केखोला खुम्चिँदै र प्रदूषित हुँदै गएको हो । यहाँ ठुल्ठुला कंक्रिटका संरचना निर्माण गरिएको छ । यसको किनारमा निर्मित कतिपय सामाजिक संघसंस्थाका भवनमा त सरकारी लगानीसमेत छ ।

महानगरले गत ३ साउनदेखि सर्वेक्षक पौडेलको नेतृत्वमा वडा प्रहरी कार्यालय बैदामनजिक गाईघाटबाट फिर्केखोलाको प्राकृतिक सिमाना यकिन गर्न नाप सुरु गरेको हो । सो कार्यमा अर्का सर्वेक्षक बद्रीप्रसाद तिवारीसहित १६ जना अमिन छन् । त्यस्तै, किला गाड्ने, झाडी फाड्ने, सिमेन्टको मसला मुछ्ने र २२ जना नगर प्रहरी गरी कुल ४० जना लगातार खटिएका छन् । हाल पुरानो कालीमाटी धारासम्म सकिएको सीमांकनमा हालसम्म करिब ४ सय पक्की पिलर गाडिएको छ ।

केही दिनयता वर्षाले काममा बाधा पुगेको सर्वेक्षक पौडेलले बताए । अब मौसमअनुकूल भयो भने तीन दिनभित्र फिर्केखोलाको पूरै सीमांकन कार्य सकिने उनको अनुमान छ । झाडी, अप्ठेरो ठाउँमा सीमांकन अलि गाह्रो हुने गरेको उनको अनुभव छ । विगतमा पनि यो खोला सीमांकन गरिएकोमा अहिले स्थानीयले पूर्वअनुमान गरेजस्तो अवरोध भने पु¥याएका छैनन् ।

नागरिक समाज पोखराका पूर्वअध्यक्ष रामबहादुर पौडेल फिर्के संरक्षणमा जुटेको महानगरको अभियानलाई नागरिक समाजले पनि साथ दिएको बताउँछन् । उनले यसको संरक्षण जरुरी थियो भन्दै सो कार्यको प्रशंसा गरेका छन् ।

फिर्के खोलाको चौडाइ कहीँ २५ मिटर फैलिएको छ भने कहीँ पाँच मिटर पनि छैन । हाल २०३२ सालको नापीअनुसार फिर्केखोलाको प्राविधिक सर्वेक्षण र नापजाँच गरेर सिमाना यकिन गर्ने काम भएको हो । तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वमा ६ पुस २०७५ को कार्यपालिका बैठकले फिर्केसहित बुलौंदी र बगादी खोलाको मापदण्ड १० मिटर तोकेको थियो । तर, सो निर्णय कार्यान्वयनमा आउन सकेन । अहिले महानगर प्रमुख धनराज आचार्य नेतृत्वले मापदण्ड पाँच मिटर बनाउने तयारी गरेको छ ।

निरन्तर अतिक्रमणको चपेटामा परेको फिर्केको वास्तविक आकार पत्ता लगाउन महानगरले प्राविधिक टोली नै गठन गरी रेखांकन थालेको हो । महानगर प्रमुख आचार्यले दिगो पर्यटन विकास परियोजनाअन्तर्गत फिर्केखोलाको संरक्षण, प्रवद्र्धन र विशेष सौन्दर्यीकरण गर्न महानगरपालिकाले प्राविधिक टोली नै गठन अभियानमा जुटेको बताउँछन् । नापजाँच सकिएपछि असोजदेखि मापदण्डविपरीतका संरचना भत्काइसकेपछि सौन्दर्यीकरणमा जुट्ने बताए । एसियाली विकास बैंकको पोखरामा दिगो विकास पर्यटनका लागि ७ अर्ब रुपैयाँको योजना सुरु भइसकेको र त्यसैअन्तर्गत फिर्केखोला सौन्दर्यकरण समावेश गरिने उनले बताए । तर, साबिकको मापदण्ड १० भएकालेमा महानगरले पुनर्विचार गरेर कम मापदण्ड तोक्ने नगरवासीको अनुमान छ । कतिपयले यो सीमांकन मात्र हुने तर कार्यान्वयनमा शंका व्यक्त गर्छन् । राजधानी दैनिक बाट