जुम्ला । फुटबलको सानो रूप ‘फुटसल’ अहिले जुम्लामा लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, बस्ती विस्तार र खुला स्थानको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरूका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । हिमाली जिल्ला जुम्लामा पनि फुटसल व्यावसायिक रूपमा स्थापना भएको छ ।

खुला स्थानको अभावले किशोरदेखि वयस्कसम्मका लागि ‘फुटसल’ खेल अभ्यास उपयुक्त विकल्प भएको जुम्ला फुटसलका सञ्चालक आमुश शाहीले बताए । निर्पराज भारती, प्रकाश शाही र आमुश शाहीसहित तीन जनाको सहकार्यमा झन्डै १ करोड रुपैयाँ लगानीमा फुटसल सञ्चालनमा आएको हो ।

अहिले दिनमा औसत ५ खेलसम्म हुने गरेको छ भने प्रतिखेलको १ हजार ५ सय रुपैयाँ शुल्क लिने गरिएको छ । सुरुमा काठमाडौं केन्द्रित यो खेल अहिले साबिकको कर्णाली अञ्चलको सदरमुकाम खलंगामा पनि सुरु भएको छ । यसलाई कतिपयले ‘फिटनेस सेन्टर’का रूपमा समेत प्रयोग गर्ने गरेका छन् । जुम्लामा नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी युवा, विद्यार्थी, स्वास्थ्यकर्मीलगायत सबै वर्गले फुटसल खेल्ने गरेका छन् ।

शारीरिक व्यायाम र खेल कौशल वृद्धिका लागि फुटसल सारथी बनेको तातोपानी गाउँपालिका–६ का युवा प्रकाश नेपालीले बताए । फुटसल सञ्चालकले पटकपटक टुर्नामेन्ट गर्नुपर्ने युवा महेश शाही बताउँछन् ।

‘यो कसरतका लागि लाभदायक छ नै तर बेलाबेला टुर्नामेन्ट भयो भने खेलाडीमा खेल क्षमता बढाउने भावनाको विकास हुुनुका साथै खेलाडीको संख्यामा पनि वृद्धि हुनेछ,’ उनले भने ।

सन् २०११ मा मानवाङ निमा लामाले ठमेलमा एरिना फुटसलको सुरु गरे र यो नै नेपालमा स्थापित पहिलो फुटसल हो । थाइल्यान्ड, सिंगापुरजस्ता देशमा फुटसल ‘बिजनेस’ धेरै फस्टाएको देखेका लामाले नेपालमा पनि फुटसल सुरु गर्ने अठोट गरे र लामो सोचविचारपछि ठमेलमा एरिना फुटसल खोलेको इतिहास छ ।