जनकपुरधाम । मधेस प्रदेशका मुख्य न्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुरमाथि आफनै कार्यालयमा कार्यरत एकजना कार्यालय सहयोगीले यौन दुव्र्यवहार गरेको आरोप लगाएको छ । मुख्य न्यायधिवक्ता ठाकुरले आफूलाई पटक–पटक दुव्र्यवहार गर्दै मानसिक यातना दिएको ती महिलाले बताएकी छिन् । मधेस आन्दोलनका सहिद परिवारबाट कार्यरत कार्यालय सहयोगी सो कार्यालयमा विगत ६ वर्षदेखि कार्यरत थिइन ।

उनले भनिन्, ‘ठाकुर सरले मलाई जहिल्यै गलत नजरले हेर्नुहुन्छ ।’ उनीले अगाडि भनिन्, ‘मलाई मुख्य न्याधिवक्ता सरले फेस ठिक गरेर कार्यालयमा आऊ । फेसमा स्माइल ल्याऊ भन्नु हुन्छ । फेसमा स्माईल ल्याएनौ भने काम गर्न नआउनु भनेर भन्नुहुन्छ ।’

उनले यही साउन १४ मा मुख्यमन्त्रीलाई लिखित रुपमै मुख्य न्यायधिवक्ताविरुद्ध निवेदन दिन गइन् । तर पुनः मुख्यमन्त्रीले म सम्झाउँछु भन्दै निवेदन दर्ता नगरी उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट फर्काए । साउन १२ गते कार्यालय समयपछि आफ्नो कार्यकक्षमा बोलाएर मुख्य न्याधिवक्ता ठाकुरले मैले भनेको नमानेको खण्डमा कुनै पनि हालतमा करारको म्याद नथप्ने भनेर भनेको कार्यालय सहयोगीले बताइन् ।

यता मुख्य न्यायधिवक्ता वीरेन्द्र कुमार ठाकुरले आफूमाथि लगाएको आरोप निराधार रहेको बताए । उनले भने, ‘एकचोटी मैले सर्वोच्च अदालतको महत्त्वपूर्ण कागजात उनलाई राख्न दिएको थिएँ । तर, उनले हराइदिइन् । त्यसपछि मैले कराएपछि उनले म माथि यस्तो आरोप लगाएको हो ।’

उता मुख्यमन्त्री सरोजकुमार यादवले सहिद परिवारलाई प्रदेश सरकारले दिएको जागिर कसैले भन्दैमा नखोसिने बताए । उनले सहिद परिवारलाई प्रदेश सरकारले सम्मानका साथ उच्च प्राथमिकतामा राखेको बताए ।

मुख्यमन्त्री यादवले भने, ‘दुवै पक्षलाई पालो पालो बोलाएर, त्यस कार्यालयका अन्य कर्मचारीहरुसँग र त्यसपछि दुबैजनासँग पनि कुरा गरेर दोषी मुख्य न्यायधिवक्ता भए उनैलाई नभए गल्ती गरेको पाइएमा सहिद परिवारलाई पनि कारबाही गरिनेछ ।’ मुख्यमन्त्री नजिक स्रोतका अनुसार मुख्यन्यायधिवक्तालाई हटाउने तैयारी भइरहेको छ । एकदूई दिन भित्रै हटाइने छ ।

राजधानी दैनिक बाट