अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगेपछि पशुपतिनाथ मन्दिर परिसर खाली गराइएको छ । मन्दिरमा राखिएको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर कम भएको भन्दै परेको उजुरीमाथि छानबिन गरिरहेको अख्तियारले आइतबार सुनको जलहरी जोख्न लागेको हो ।

सुनचाँदी व्यवसायी संघका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भविभागका अधिकारीहरु र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर सुनको जलहरी तौलने र गुणस्तरसमेत जाँच्ने तयारी अख्तियारकाे रहेकाे छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पशुपतिनाथमा राखिएको १०८ किलोको सुनको जलहरीमा विवाद उत्पन्न भएपछि अख्तियारमा उजुरी परेको थियो । महालेखा परीक्षकको प्रतिवेदनले पनि करिब ११ किलो सुन कम प्रयोग भएको भन्दै अनियमितताको संकेत गरेको थियो । जलहरी काण्डबारे यसबारे संसदीय समितिले पशुपति विकास कोषका कर्मचारीलाई बोलाएर सोधपुछसमेत गरेको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले करिब एक अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गर्दै त्यसका लागि सरकारका तर्फबाट ३० करोड दिने घोषणा गरेका थिए । लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो । सुनको जलहरी राख्ने विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन लागेको थाहा पाएपछि तत्कालीन सरकारले हतार–हतार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत उद्घाटन गराएको आरोप लाग्दै आएको छ ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार जलहरी बनाउँदा करिब ११ किलो सुन गायब भएको छ। त्यसको त्यतिवेलाको मूल्य करिब आठ करोड रुपैयाँ हुन आउँछ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विवादबीच पशुपतिनाथ मन्दिरमा १२ फागुन ०७७ मा १०८ किलो सुनको जलहरी अनावरण गरेकी थिइन्। करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन्।

जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग गरेर बाँकी रहेको १०.९७६ किलो सुनको रिङ बनाई जलहरीमा लगाइएको कोषको जवाफ थियो। तर, जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउन प्रयोग भएको पुष्टि नभएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ।

सुन हिनामिनाको आरोप लागेपछि कोषका सदस्यसचिव मिलनकुमार थापाले संसदीय समितिमा आरोप अस्वीकार गर्दै सुन जोख्न अनुरोध गरेका थिए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जोखेको सुन कति छ अहिलेसम्म सार्वजनिक गरेको छैन ।