मधेस प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादव उच्च अदालत जनकपुर राजविराजको आदेशमा बिहीबार राती रिहा हुनुभएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित सांसद यादवलाई उच्च अदालतले रु एक लाख २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको अदालतका निमित्त रजिस्ट्रार फणीन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।

माओवादी नेता गोबिन्द चौधरीको हत्याकाण्डमा संलग्न रहेको भन्दै उहाँ विरूद्व कर्तव्य ज्यान तथा डाँका मुद्दा परेको थियो । मुलतबीमा रहेको उक्त मुद्दामा यादवलाई तत्कालीन सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीले भदौ१७ गते पक्राउ गरी भोली पल्ट सप्तरी जिल्ला अदालतमा पेस गर्नुभएको थियो । सोही दिन अदालतले पुर्पक्षका लागि यादवलाई थुनामा पठाउने आदेश दिएको थियो ।

अदालतले वादी रिता कुमारी चौधरीको जाहेरीले कर्तव्य ज्यान तथा डाँका मुद्दामा नेपाल सरकारको प्रतिवादी भनिएका अनिरुद्ध सिंहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ १ ख बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी इन्द्र कुमार योङ्गहाङ्ले बताउनुभयाे । अदालतले पुर्पक्षका लागि कारागार चलान गरिए लगतै मधेस प्रदेश सभाले यादवलाई प्रदेश सभा सदस्य पदबाट निलम्बन गरेको थियो ।सप्तरी जिल्ला अदालतको आदेशविरुद्ध अनिरुद्ध पक्षले उच्च अदालतमा रिट दायर गरेको थियो । सोही रिटउपर बिहीबार बहस हुँदा न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र पूर्ण प्रसाद राजवंशीको संयुक्त इजलासले उहाँलाई धरौटीमा रिहा गर्ने आदेश दिएको निमित्त र रजिस्टार भट्टराईले बताउनुभयो ।