पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा रोकेको छ । रोल्पा हिँडेका महरालाई प्रहरी निगरानीमा पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एकजना अधिकृतले बताए ।आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए। गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका हुन् ।  सुन तस्करी प्रकरणमा आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरा प्रहरीको निगरानीमा छन् ।  भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो । श्रोतका अनुसार प्रहरीले महरालाइ रुपन्देहीबाट काठमाडौ ल्याउन लागेको छ।