ओलीको चेतावनी, ‘फिर्ता लिएर पुर्नलेखन नगरे रिङ आउट’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान नहुने भन्दै त्यसलाई फिर्ता लिएर पुनर्लेखन गर्न चेतावनी दिएका छन् ।

प्रमुख प्रतिपक्षी दलका एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन नगरे ‘रिङ आउट’ गर्ने चेतावनी दिए ।

सरकारले आगामी नीति तथा कार्यक्रम आइतबार पेस गरेको थियो । सोही नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू ! प्रस्तावित नीति तथा कार्यक्रम फिर्ता लिनुस् र पुनर्लेखन गर्नुस्, फिर्ता लिनुहुन्न भने छक्का हानेर पठाइदिनुपर्छ, रिङ आउट ।’

नीति तथा कार्यक्रम

यो नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान नहुने बताउँदै उनले भने, ‘यस नीति कार्यक्रमले अब हुनेवाला केही छैन । यो पारित गर्न योग्य छैन, पारित गर्नुहुँदैन । सरकारको नीति नै ‘नीति शून्य नीति’ छ, उद्देश्य छैन । कहाँ पुग्ने गन्तव्य छैन । कसरी जाने भन्ने मार्गचित्र छैन, सर्वत्र नीति, शून्य नीतिको अवस्था देखियो ।’

नीति तथा कार्यक्रममा सरकार पूर्णरूपमा चुकेको र असफल भएको दाबी गर्दै ओलीले भने, ‘संविधानले प्रत्याभूत गरेको रोजगारी, आवासलगायतका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तलाई आधा मानेर नीति कार्यक्रम प्रस्तुत गर्न सरकार पूर्णरूपमा चुकेको छ, असफल भएको छ ।’

अध्यक्ष ओलीले पछिल्लो निर्वाचनमा वर्तमान गठबन्धनले गरेको वाचा र नीति तथा कार्यक्रमलाई दाँजेर अध्ययन गर्दा तालमेल नमिलेको दाबी गरे । ‘निर्वाचनमा जनतासँग मत माग्दा खासगरी नेपाली कांग्रेस र नेकपा माओवादीसहितका गठबन्धनले गरेको वाचाको संग्रहित घोषणापत्र र त्यसपछिको पहिलो नीति तथा कार्यक्रमको तुलनात्मक लेखाजोखा पनि गरे’ ओलीले भने, ‘तर मैले भन्नै पर्ने भयो । यो दस्तावेजले ती भावनालाई आत्मसात् गर्न सकेको छैन ।’

ओलीले सरकारको नीति तथा कार्यक्रम ‘रोम जलिरहेको र निरो बाँसुरी बजाइरहेको’ जस्तो रहेको टिप्पणी गर्दै देश संकटमा रहेको र त्यसलाई लुकाउन खोजिएको आरोप लगाए । ‘देश असामान्य अवस्थामा रहेको सरकारले लुकाउन खोजेको छ । यति मात्रै होइन, देश जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ,’ उनले भने । नीति तथा कार्यक्रमबाट सरकारले जनतालाई झुक्याउन खोजेको आरोप उनको छ ।

पछिल्ला दुई वर्षमा देशको अवस्था खस्केको बताउँदै उनले नीति तथा कार्यक्रममा त्यस्तै कुरा उल्लेख भएको र आफ्नो सरकार रहेका बेला तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने १० देशको सूचीमा नेपाल रहेको दाबी उनले गरे ।

‘३ वर्षमा सरदर ६ दशमलव ५ प्रतिशतले बढेको थियो । बेलायतबाट ‘द इकोनमिस्ट’ पत्रिकाले सन् २०१९ मा विश्वका १० मुलुक समावेश गरेको थियो । दुई वर्षमै यति तीव्र गतिमा नेपालको दुगर्ति कसरी भयो ? नागपासा खेलेझैं ९९ बाट दुईमा कसरी झार्नुभयो ?’ ओलीले प्रश्न गरे ।

प्रत्येक सरकार सरकार समस्या समाधानका लागि बनेका हुने उल्लेख गर्दै ओलीले अनेक कारण देखाएर पन्छिन नपाउने बताए । ‘विकासका समस्या शान्ति र सेवाका समस्या हुन्छन् । सरकार समस्या समाधानकै लागि बन्ने हो । समस्यालाई दोष लगाएर सरकार उम्किन मिल्छ ? अर्थतन्त्र ध्वस्त बन्न गठबन्धन बन्नुपरेको हो ?’ ओलीले प्रश्न गरे ।

अर्थतन्त्र संकटको डिलमा पु¥याउनलाई नै कांग्रेस–माओवादी गठबन्धन बनेको आरोप लगाउँदै उनले भने, ‘नेकपा एमालेलाई विस्थापन गरी बनेको कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धन सरकार नै हाम्रो अर्थतन्त्रलाई संकटको डिलमा पु¥याउने प्रमुख कारक हो । के यही दिन ल्याउन, देशलाई ओरालो ल्याउन, अर्थतन्त्र ध्यस्त बनाउन यो गठबन्धन बन्नुपरेको थियो ?’

नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान भइरहेकै बेला अध्यक्ष ओलीले सन् २०१२ मै केही मान्छे नक्कली शरणार्थी बनेर गएको दाबी गरेका छन् । ‘सन् २०१२ मा मैले सुनेको छु । त्यसबेला केही मान्छे छिरे भन्ने मैले सुनेको छु । त्यो छानबिन गर्नुप¥यो, खोजी गर्नुप¥यो,’ ओलीले भने ।

सरकारले यो प्रकरणमा ‘जुँगामा ताउ लगाएको’ भन्दै त्यसको औचित्य नरहेको ओलीले टिप्पणी गरेका छन् । ठूलो संख्यामा ठगी धन्दा भएकाले यो स्वतः विस्फोट भएर आएको ओलीले दाबी गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने, निर्दोष फसाउने प्रयास भइरहेको आरोपसमेत ओलीले लगाए ।

‘हामी सधैं भ्रष्टचारविरुद्धमा छौं । कोही पनि दोषी छुट्नुहुँदैन । तर, अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ । म खबरदारी गर्न चाहन्छु,’ अध्यक्ष ओलीले भने, ‘दोषी उम्काउने, निर्दोष फसाउने यस प्रकारको प्रयास नगर्दा हुन्छ ।’

नक्कली शरणार्थी प्रकरणमा एमालेका तत्कालीन सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका साथै कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायतका पक्राउ परिसकेका छन् ।

सोही प्रकरणका सम्बन्धनमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच यसबीचमा पटकपटक छलफल भयो । सो विषयसमेत उल्लेख गर्दै ओलीले ३ शीर्ष नेताको बैठकमा कसैलाई उम्काउने विषयमा छलफल नभएको दाबी गरे । तीन नेताको भेटघाट लगातार र दिनहुँ हुन थालेपछि आफू निकटका नेतालाई उम्काउन प्रयास भइरहेको सन्देश प्रवाह भएपछि ओलीले यस्तो बताएका हुन् ।

‘तीनटा पार्टीका नेता भेट्दा सन्देह पैदा भयो । मन्त्रिपरिषद् बैठक बस्दा सन्देह भयो । के सदन चलाउने कुरामा नेताहरू छलफल गर्दैनन् ? संसद्मा जटिल प्रकारका बनावट हुन्छन् । ती स्मुथ्ली कसरी लाने छलफल गर्दैनन् ?’ ओलीले प्रश्न गरे ।

तीमध्ये अन्य दुई नेताहरूमाथि भन्दा पनि आफूलाई शंकाको दृष्टिले हेरिएको बुझ्दै उनले थप प्रश्न गरे, ‘दुईटा नेता दूधमा नुहाएका, म चाहिँ लौन मान्छे बचाइदेऊ भन्न गएको ? बाघ भोकै बस्छ, घाँस खाँदैन । केपी ओलीले म्याउँ म्याउँ गर्दैन ।’

उनले सक्कली प्रतिवेदनमा गलत नामसूची घुसाइएको बताए । कभर त्यही राखेर कागज फेरिएको बताउँदै त्यसलाई खोज्नुपर्ने बताउँदै उनले भने, ‘कभर त्यही राखियो, भित्रको कागज फेरियो । व्यक्तिको सूची परिवर्तन गरियो । परिवर्तन गर्ने खोजौं न । एमालेलाई गाली गर्न रहर लाग्या छ भनेर रहर गर्न पनि होइन जिन्दगी । म चुनौतीका साथ भन्छु । म प्रम भएँ, गृहमन्त्री भएँ, परराष्ट्र मन्त्री भएँ छानबिन गरियोस् ।’

सरकार दोषी उम्काउने र निर्दोष फसाउनेगरी लागेको आरोप लगाउँदै उनले त्यस्तो हुन नदिने चेतावनीसमेत दिए ।

२० सांसदको संशोधन प्रस्ताव दर्ता
यसैबीच, सरकारको आउँदो आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथि २० जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० जना सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले आइतबारको बैठकमार्फत संसदलाई जानकारी गराए ।

नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेबाट सांसद एकनाथ ढकाल, वासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो (महासेठ), भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार बर्तौला र सूर्यप्रसाद ढकालले संशोधन प्रस्ताव राखेका छन् ।

यस्तै, सत्तारूढ दल नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद चन्दा कार्की भण्डारी, सोबिता गौतम र सुमना श्रेष्ठले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामप्रकाश चौधरीले नीति तथा कार्यक्रमका विभिन्न बुँदामाथि संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

यसैगरी, नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा तीनवटा संशोधन प्रस्ताव दर्ता भएका छन् । नीति तथा कार्यक्रममा विमला राई पौडेल, विमला घिमिरे र तुलसाकुमारी दाहालले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *