दक्षिण एसियाली राष्ट्रहरूले आपसी मतभेद बिर्सेर जलवायु परिवर्तनका कारण उत्पन्न साझा चुनौतीसँग जुध्न सहकार्य गर्न आवश्यक रहेको यस क्षेत्रका युवाले बताएका छन्। दक्षिण एसियामा हिमनदी पग्लने, बाढीपहिरो, डुबान, महामारी, खडेरी तथा तातो हावा चल्नेलगायतका प्राकृतिक प्रकोपका घटना बढ्दो क्रममा छन्। यस्ता प्रकोपको सामना गर्न र जलवायु उत्थानशीलताका उपायहरूको खोजी गर्न सहकार्य र हातेमालोको विकल्प नभएको ठहर दक्षिण एसियाली युवाको छ।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता, सबैका लागि भलाई’नामक सेप साउथ एसिया सम्मेलनमा सहभागी युवाले यस्तो धारणा व्यक्त गरेका हुन्। सम्मेलनमा सहभागी पाकिस्तानका मुहम्मद अबुवाकर राजनीतिक सम्बन्ध प्रतिकूल हुँदाहुँदै पनि भारत र पाकिस्तानले कोभिड महामारीसँग जुध्न मिलेर काम गरेको उदाहरण दिए।

पाकिस्तानको फैसलावादमा रहेको ग्लोबल सेपर्स हबले भारतका विभिन्न सहरका हबसँग मिलेर कोभिड–१९ विरुद्ध औषधि, भ्याक्सिन तथा उपचारमा सहकार्य गरेको प्रसंग स्मरण गर्दै अबुवाकर भन्छन्, ‘कोभिड–१९ महामारीभन्दा जलवायु परिवर्तन झन् ठुलो चुनौती बनेको छ। यसका लागि पनि क्षेत्रीय एकता र सहकार्य आवश्यक छ।’

युरोपेली संघलगायत विश्वका अन्य क्षेत्रीय संगठनहरू क्षेत्रीय एकता र आर्थिक विकासमा सफल रहेको तर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) ले अपेक्षित काम गर्न नसकेकोमा आफू दुखी रहेको अबुवाकर बताउँछन्। सम्मेलनमा सहभागी पाकिस्तानकी कशव अख्तर कुनै पनि विषयमा युवा पुस्ता समस्या नभई समाधानको हिस्सा हुनुपर्ने ठान्छिन्।

‘आर्थिक हिसाबमा चक्रीय अर्थतन्त्र (सर्कुलर इकोनोमी) मा हामी जोडिएका छौं। वातावरण संरक्षण र जलवायु परिवर्तनका चुनौती सामान गर्न यो क्षेत्रमा गरिएका साना–साना प्रयास र उपाय महत्वपूर्ण छन्,’अख्तर भन्छिन्।

सम्मेलनमा सहभागी भारतको पुणेकी देव्यानी पवार समुदायदेखि क्षेत्रीयस्तरसम्म आपसी सहकार्य र समन्वय गरी जलवायु संकटसँग जुध्नुपर्ने ठान्छिन्। ‘जुनसुकै संस्कृति र पृष्ठभूमि भए पनि हामी एकआपसमा जोडिएका छौं। जलवायुजन्य चुनौती समाधानमा हामी मिल्नैपर्छ,’उनी भन्छिन्।

त्यस्तै सम्मेलनमा सहभागी दक्षिण एसियाली राष्ट्रहरूसँग जलवायु परिवर्तनका प्रभावसँग जुध्ने ठोस योजना र रणनीति नभएको श्रीलंकाकी क्रिस्टल विजयसुरिया बताउँछिन्। जलवायुजन्य जोखिमका हिसाबले गरिब, अपांगता भएका र अन्य सिमान्तकृत समुदाय बढी प्रभावित भएको बताउँदै उनी भन्छिन्, ‘जलवायु परिवर्तनका असर शिक्षा, स्वास्थ्य तथा लैंगिक विषयसँग जोडिन्छन्। यसका चुनौतीसँग जुध्न गरिबी निवारण पनि उत्तिकै आवश्यक छ।’बंगलादेशका निया मुर्सेद समुद्र सतह बढ्दा कृषियोग्य जमिन डुबानमा पर्दा किसान पलायन भएको बताउँछन्।

दक्षिण एसिया जलवायु संकटको हिसाबले विश्वमा अग्रपक्तिमा रहेको सम्मेलनको स्थानीय आयोजक ग्लोबल सेपर्स काठमाडौंका सदस्य प्रतीक कुँवर बताउँछन्। ‘हाम्रा हिमनदी संकटमा छन् र हिन्दकुश हिमालय क्षेत्रबाट बग्ने पानीमा तल्लो तटका झन्डै २ अर्ब मानिस आश्रित छन्। हामी एक आपसमा जोडिएको संकटमा जेलिएका छौं,’ग्लोबल सेपर्स कम्युनिटीका सल्लाहकारसमेत रहेका कुँवर भन्छन्। युवालगायत अन्य नागरिक तहमा आपसी सहकार्य हुँदा दक्षिण एसिया तथा समग्र विश्वमा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौती सामना गर्न सहज हुने बताउँदै कुँवर थप्छन्, ‘एक ठाउँको परिणाममुखी नतिजा, अनुसन्धान र असल अभ्यास अन्यत्र पनि लागु गर्न सकिन्छ।’

ग्लोबल सेपर्स कम्युनिटीको मुख्यालय जेनेभाकी केरेन सेजले विश्वमा विभिन्न देशमा यो संस्थाले २२ सय परियोजना कार्यान्वयनमा ल्याएको र जलवायु परिवर्तन प्राथमिकताको अग्रिम सूचीमा रहेको बताइन्। ‘काठमाडौं सम्मेलनका निर्णय र सुझावको विश्वव्यापी महत्व रहनेछ ’उनले भनिन्। उपराष्ट्रपति रामसहाय यादवले शुक्रबार उद्घाटन गरेको यो सम्मेलनमा जलवायु परिवर्तनसम्बन्धी विभिन्न विषयगत सत्र हुनेछन्। सम्मेलन समापनसँगै जलवायु उत्थानशिलताका विषयमा दक्षिण एसियाली पैरवीपत्र (एड्भोकेसी पेपर) जारी गरिने छ। सम्मेलनमा दक्षिण एसियाली राष्ट्रसहित विश्वका १४ देशका करिब एक सय युवाको सहभागिता छ।

नागरिक दैनिक बाट