प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । यहीँ ५ गते नेपाल मन्त्रिपरिषद्ले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो ।आज नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीको नेतृत्वमा गएको महासंघको टोलीले प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहालसँग भेट गरी विभिन्न ६ बुँदे मागसहितको सुझाव कार्यान्वयनपत्र बुझ्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले विगतमा भएको व्यवस्थाअनुसार नै जग्गा कित्ताकाट गर्ने गरी व्यवस्था गर्न सरकारले गरेको निर्णय तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएको महासंघका सचिव रामसुन्दर बकेँले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले मुख्य सचिवमार्फत भूमि सुधार मन्त्रालयका सचिवलाई सरकारको निर्णय कार्यान्वयन गर्न गराउन निर्देशन दिएका हुन् । देशको आर्थिक अवस्था सुधारका लागि घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री दाहालले सरकारको निर्णयलाई राजपत्रमा प्रकाशित गरी तत्कालै कार्यान्वयनमा ल्याउने बताएका हुन् ।

महासङ्घका अध्यक्ष लोहनीले सुझाव पत्र बुझाउँदै घरजग्गा कारोबारबाट मात्र नेपाल सरकारले वार्षिक ८५ अर्ब राजस्व संकलन गर्दै आएको र घरजग्गा व्यवसायीबाट मात्रै १२ अर्बभन्दा बढी राजस्व संकलन गरेकोमा कारोबार सुस्ताउँदा राजस्वमा गम्भीर असर परेको बताएका थिए ।

प्रधानमन्त्री दाहाललाई महासंघले बुझाएको पत्रमा भूउपयोगसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाटलाई साविक बमोजिम खुलाउन सहजीकरण गर्नुपर्ने माग गरेको महासंका सचिव बकेँले जानकारी दिए ।