काठमाडौं । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीका लागि डिल्लीबहादुर चौधरी र गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीका लागि सोमप्रसाद पाण्डेले दाबी पेस गरेका छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले दाबी पेस गरेका हुन् ।

दाङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यमा निर्वाचित उनले कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले ११ वैशाखमा प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढाइएको हो ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीका लागि ३५ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् । दिउँसो साढे ३ बजे बजे कांग्रेसका पाण्डेले तीन दलका ३५ जना सांसदसहित आफूलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतका आधारमा मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष दाबी पेस गरेका हुन् ।

उनले प्रदेश प्रमुख कार्यालयका सचिव अणप्रसाद न्यौपानेलाई बहुमतको हस्ताक्षर बुझाएका छन् । पाण्डेलाई नेपाली कांग्रेस २७, माओवादी ७ र स्वतन्त्र (एकीकृत समाजवादीमा प्रवेश) १ जना संसदको समर्थन छ ।

राजधानी दैनिक बाट