९९ प्रतिशतको समर्थन पाएको सत्तारूढ गठबन्धनमा संकट आउने संकेत देखिएका छन ।यसको उदाहरण हो, नेकपा हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली तल्लो तलामा पार्टीको बैठक चलिरहँदा बालुवाटारको माथिल्लो तलामा त्यसै बसेर टारिदिनुहुन्थ्यो । आफू प्रधानमन्त्री हुँदा तत्कालीन नेकपाको सचिवालय बैठकका लागि दुई पाइला तल नझर्ने उहाँ आजकाल दैनिकजसो बालकोटदेखि बालुवाटार धाइरहनु भएको छ । आफ्ना समकालीन नेताहरुलाई झुकाएको सन्देश दिन आफ्नै दैलोमा बोलाउने अध्यक्ष ओलीको अहिले दिनको एकचोटी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने एक प्रकारको रुटिन नै बनेको छ ।

माओवादीको समर्थन लिएर भावी राष्ट्रपति आफ्नो पोल्टामा पार्न प्रधानमन्त्री प्रचण्डलाई मनाउनुपर्ने बाध्यता आइलागेपछि ओलीको बालुवाटार दौडाहा बढेको बुझ्न कठिन छैन । माओवादीको स्थायी कमिटी बैठकले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि सशंकित हुनुभएका ओली र प्रधानमन्त्री प्रचण्डबीच केही दिनयता बाक्लिएको भेटघाट जारी रहेको छ।

प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत राष्ट्रपति निर्वाचनलाई लक्षित गरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । माओवादीसँग टुटेको सम्बन्ध जोड्न प्रयास गरिरहेको काँग्रेसले सोहीअनुसार रणनीति बनाएर प्रदेशमा पनि माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको छ । माओवादी र काँग्रेसबीच विश्वासको वातावरण बनिरहँदा एमाले पंक्ति भने सशंकित बनेको हो ।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेले लिने सहमति भएको सो पार्टीका नेताहरु दावी गर्छन् । तर,माओवादी नेताहरुले भने पुस २६ गते कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएकाले परिस्थिति बद्लिएको र सोहीअनुसार राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिइरहेका छन् ।