सत्ता गठबन्धनमा आवद्ध १० वटै दललाई सरकारमा सहभागी गराउँदै प्रधानमन्त्रीले ११ जना मन्त्री थप्नु भएको छ । यसअघि माओवादी केन्द्रका चार र जनमत पार्टीका एक जना मन्त्री थिए । तीमध्ये जनमतका अब्दुल खानले आजै दिउँसो राजीनामा दिएका छन् ।

नवनियुक्त मन्त्रीहरुले भने दिउँसो पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरुको कार्यविभाजन समेत गरिएको जानकारी दिइएको छ । १८ सदस्यीय क्याबिनेटमा दुई उपप्रधान र एक राज्यमन्त्री छन् । मन्त्रीहरुको वरीयता पनि निर्धारण भएको छ ।

जसमा दुई उपप्रधानमन्त्रीमध्ये काँग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई प्रधानमन्त्रीपछि पहिलो वरीयतामा राखिएको छ । यसअघि विष्णु पौडेलभन्दा तल राखिएकोमा चित्त दुखाएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको दोस्रो वरीयता यथावत छ । खड्काले रक्षा र श्रेष्ठले गृहको जिम्मा पाएका छन् । यसअघि श्रेष्ठ भौतिक पूर्वाधारमा थिए ।

मन्त्रीहरुमा सबैभन्दा माथि एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल छन् । अर्थात् समग्र क्याबिनेटमा चौथो वरीयतामा रहेका उनलाई कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यसपछि क्रमशः अशोक राई शिक्षा, शरतसिंह भण्डारी श्रम, डा. प्रकाशशरण महत अर्थ र महिन्द्र राय यादव महिला बालबालिका मन्त्री छन् ।

आज ऊर्जामन्त्रीको शपथ खाएका शक्तिबहादुर बस्नेतको वरीयता नवौं स्थानमा छ । त्यसपछि क्रमशः यसअघि नै क्याबिनेटमा रहेका सञ्चारमन्त्री रेखा शर्मा, पर्यटनमन्त्री सुदन किराँती र सामान्य प्रशासनमन्त्री अमनलाल मोदी छन् । आज नियुक्त भएका मन्त्रीहरुमा प्रकाश ज्वालाको वरीयता १४ औँ स्थानमा रहँदा त्यसपछि रन्जिता श्रेष्ठ भूमि व्यवस्था, रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री छन् ।

यसअघि नै राज्यमन्त्री रहेकी माओवादी केन्द्रकी शुशिला सिर्पालीलाई १८ सदस्यीय क्याबिनेटको अन्तिम वरीयतामा राखिएको छ ।

क्याबिनेटमा काँग्रेसबाट चार, माओवादी केन्द्रबाट एक राज्यमन्त्रीसहित छ, एकीकृत समाजवादीका दुई, जसपा, लोसपा र नेपाल समाजवादी पार्टीले १–१ वटा मन्त्री पाएका छन् । आन्तरिक भागबण्डा नमिलेका कारण मन्त्री टुंग्याउन नसकेको काँग्रेसले चार र जसपाले एक मन्त्री पछि थप्ने बताइएको छ ।