काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पहिलो चरणको मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्तारुढ दलहरूबीच सरकार विस्तारका लागि बुधबार सहमति जुटेसँगै आज मन्त्रिपरिषद् विस्तारको तयारी भएको हो । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँटको टुङ्गो लागेपछि बिहीबार मन्त्रिपरिषद् विस्तार हुने दलहरुले बताएका छन् ।

आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तारको तयारी रहेको भन्दै दिउँसोसम्म मन्त्रि बन्नेहरुको नाम पठाउने दलहरुको तयारी छ। मन्त्रि छान्नकै लागि केहि दलले आन्तरिक बैठक बोलाएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई स्वतन्त्रसहित १० दलले विश्वासको मत दिएका थिए। सबै दललाई भागबन्डा गरिएको छ।

सहमति अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २ दिइने छ। जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए।

यद्यपि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे सहमति बाहिर आएको छैन।