बिहीबार बिहान परराष्ट्रमन्त्री साउद नेपाल एयरलाइन्सको एयरबस ३३० वाइडबडीमार्फत इजरायल गएका हुन् ।

पहिलो चरणमा दुई सय ५४ विद्यार्थीलाई उद्धार गरेर स्वदेश फर्काइनेछ ।

इजरायलबाट तीन सय ५० नेपाली नागरिकले स्वदेश फर्किने चाहना राख्दै विवरण टिपाएकामा पहिलो चरणमा दुई सय ५४ विद्यार्थी ल्याउन लागिएको हो ।

बिहीबार बिहान स्थानीय समयअनुसार ९:१० बजे जहाज तेलअभिभ पुग्नेछ । त्यहाँबाट ११:१० बजे उडेर दुबई हुँदै साँझ ८:२० बजे काठमाडौंमा जहाज अवतरण गर्ने तालिका छ ।

शव ल्याउन केही ढिलाइ हुने

इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाको शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले नेपाली नागरिकको शव तत्काल ल्याउन ढिलाइ हुने भएको छ । शव परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले आज इजरायल गएको विमानमा शव ल्याउने सम्भावना छैन ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, “सबै शव इजरायली सरकारको संरक्षणमा सुरक्षितरुपमा राखिएका छन् । शव यथासक्य छिटो नेपाल ल्याउने गरी आवश्यक समन्वय गरिरहेका छौँ । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुने बित्तिकै शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने तयारी छ ।”

घटनापश्चात् प्राथमिकताका साथ इजरायल–गाजाको सीमावर्ती क्षेत्रको कृषि फार्ममा रहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ गरी ५५ विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको छ । यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ विद्यार्थीलाई पनि सुरक्षित स्थानमा सारि सकिएको मन्त्रालयले जनाएको छ ।

स्वदेश फर्कन चाहनेको हवाई खर्च सरकारले बेहोर्ने

सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई चाटर्ड उडानबाट इजरायल पठाएर उद्धारलगायत अन्य कूटनीतिक कामको अनुगमन एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गरेको छ ।