घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा टेस्ट टोली आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएकोछ । योसँगै दुई खेलको सिरिजमा नेपालले १-० को अग्रता लिएको छ ।

जितको लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा ओपनर कुशल भुर्तेल ३२ बलमा ४ चौकासहित सर्वाधिक ३७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी १२ बलमा २ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे ।

ओपनर आसिफ शेख ११ बलमा २ चौका र १ छक्कासहित १६ रनमा, कप्तान रोहित पौडेल शून्य र गुलशन झा ४ रनमा आउट भए । व्यक्तिगत २ रनमा जीवनदान पाएका सन्दीप जोराले ३५ बलमा ३ चौका र २ छक्कासहित ३६ रन बनाए ।

उनले चौथो विकेटका लागि सन्दीप र कुशल भुर्तेलले ५० बलमा ५४ रनको साझेदारी गरेका थिए । आयरल्यान्डका ग्यारेथ डेलानीले २, बेन ह्वाइट र थोमस मेयसले १/१ विकेट लिए ।