काठमाडौं । नेपाल र चीन विद्युतीय प्रसारण लाइन जोडिने भएको छ। नेपाल-चीनबीचमा विद्युत व्यापारको सुरुवात गर्न २२० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने तयारी सुरु भएको हो। नेपालमा उत्पादन हुने बिजुलीको ठूलो बजार चीन भएकाले त्यसलाई लक्षित गर्दै चिलिमे–रसुवागढी–केरुङ प्रसारण लाइन निर्माणका लागि तयारी अघि बढाइएको हो।  यसका लागि नेपालतर्फ पर्ने करिब १८ किलोमिटर भूभागतर्फको अध्ययनका कार्यहरु अन्तिम चरणमा पुगेको छ।  ‘नेपालतर्फ पर्ने प्रसारण लाइनको पूर्व सम्भाव्यता अध्ययन र विस्तृत अध्ययन प्रतिवेदन समेत चिलिमे इन्जिनियरिङ कम्पनीले तयार पारिसकेको छ,’ ।   चीनतर्फ पर्ने खण्डको अध्ययन पूरा गरी सम्झौता गरेर निर्माण अघि बढाउने तयारी रहेको छ।  यसअघि नेपाल र चीनबीच विद्युत् व्यापारका लागि रातामाटे–रसुवागढी–केरुङ ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण अघि बढाइएको थियो। तर उक्त प्रसारण लाइन निर्माण पूरा गर्न समय लाग्ने भएकोले विद्युत् आदान–प्रदान अघि बढाउन तत्कालका लागि २२० केभीको प्रसारण लाइन निर्माण अघि बढाउन चीनले प्रस्ताव ल्याएको थियो। चीनको प्रस्तावमा उत्साही र सकारात्मक हुँदै सरकारले काम अघि बढाएको हो। पछि क्षमता विस्तार गर्न मिल्ने गरी २२० केभी क्षमतामा उक्त लाइन बनाउन नेपालको मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि यो परियोजना अघि बढ्न लागेको हो।    नेपालतर्फको खण्डमा पर्ने प्रसारण लाइन समेत अनुदान सहयोगमा निर्माण गरिदिन चीनसँग आग्रह गरिएको छ। यसका लागि गत वर्षको असोजमा प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा सहमति समेत भएको छ। उक्त सहमति कार्यान्वयनका विषयमा छलफल गर्न प्राधिकरण र स्टेट ग्रिड कर्पोरेसन अफ चाइनाका अधिकारी सम्मिलित संयुक्त कार्यदलको बैठक आउँदो मार्चको तेस्रो साता चीनमा बस्न लागेको श्रेष्ठले बताए। बैठकमा यस लाइन निर्माणको विषयलाई ठोस रूपमा अघि बढाइने उनको भनाइ छ। बैठकमा आयोजनको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर), लागत लगायतका विषयमा छलफल हुनेछ।  प्राधिकरणका अनुसार चीनको तिब्बतको ल्हासा क्षेत्रमा क्षेत्रमा हिउँदको समयमा विद्युत् अभाव हुने र उक्त ठाउँमा हजारौँ किलोमिटर टाढाबाट बिजुली ल्याउनुपर्ने अवस्था छ। नेपालबाट बिजुली लान सके दूरी छोटो पर्ने र बिजुलीको ‘ट्रान्समिसन लस’ कम हुने आकलन चिनियाँ पक्षको छ।