प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरास्थित सूर्यदर्शन सहकारीको बचत हिनामिना प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएमा कारबाही गर्नबाट कसैले रोक्न नसक्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेसले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गर्ने सवालमा आफूले कुनै पनि सम्झौता नगर्ने बताए।

‘अनुसन्धानबाट केही कैफियत देखिएमा उहाँ (रवि लामिछाने) लाई कारबाही गर्ने कुरामा पनि कसैले रोक्न सक्दैन। यो कुरा प्रस्ट राख्न चाहन्छु’, प्रधानमन्त्री प्रचण्डले भने।उनले अनुसन्धानको घेरामा आएपछि कारबाही गर्न आफ्नो र अर्काको पार्टी भन्ने आग्रह/पूर्वाग्रह पनि नराखेको बताए।

‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ। यसमा आफ्नो पार्टी र अरूको पार्टीको भन्ने आग्रह/पूर्वाग्रह पनि राखेको छैन। आउने दिनमा पनि राख्नै छैन’, उनले भने।

साथै, प्रधानमन्त्री प्रचण्डले उनले लामिछानेविरुद्ध परेको जाहेरीमा पनि कुनै प्रमाण र आधार नभेटिएको दाबी पनि गरे।

‘उहाँ सहकारीको सञ्चालक, लेखा, ऋण समितिलगायत कर्मचारीलगायत कुनै जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ जोडिएको देखिँदैन’, उनले भने।