काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रधानमन्त्रीले मन्त्रीहरू हेरफेर गर्न चाहेमा कांग्रेस बाधक नबन्ने बताएका छन् । उनले संसदीय व्यवस्थामा कसलाई मन्त्री बनाउने भन्ने विषय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने बताए । बिहीबार सानेपामा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका विषयमा जानकारी दिने क्रममा नेता विश्वकर्माले बैठकमा भने त्यसबारे छलफल नभएको बताए । ‘मन्त्री हेरफेरको विषयमा बैठकमै छलफल भइसकेको छैन । तर यो संसदीय व्यवस्था हो । प्रधानमन्त्रीलाई आफ्नो अनुकूलको मन्त्रिपरिषद् आवश्यक पर्छ । एकल सरकार भएको भए प्रधानमन्त्रीले जति बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्थ्यो,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘अहिले गठबन्धनको सरकार छ । तैपनि प्रधानमन्त्रीले गठबन्धनका दलहरूसँग छलफल गरेर जुनसुकै बेला पनि मन्त्रीहरू हेरफेर गर्न सक्नुहुन्छ, त्यसमा कांग्रेस बाधक बन्दैन ।’ नेता विश्वकर्माले सरकारको सफलता र असफलताको विषयमा प्रधानमन्त्रीकै हातमा निर्भर रहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यभार सम्हालेको एक वर्ष पुगेकोे सन्दर्भमा मन्त्रीका कार्यशैलीमाथि असन्तुष्टि व्यक्त गर्दै कार्यसम्पादनमा कमजोर रहेकाहरूलाई हेरफेर गर्ने बताएका थिए । तर कांग्रेस सभापति शेरबहादुर देउवाले भने पार्टीले सरकारमा मन्त्रीहरू पठाएको एक वर्ष नपुगेको भन्दै त्यसबारे अहिले छलफल नगर्ने भनेका छन् ।  कांग्रेस महासमिति बैठक र राष्ट्रिय सभाको चुनाव पनि नजिक आएकाले ती विषयमा विवाद हुने आशंकामा देउवाले मन्त्री हेरफेरको विषय पछि धकेल्न खोजेका छन् ।  प्रधानमन्त्रीले दलका नेताहरूसँग व्यक्तिगतरुपमा मन्त्री हेरफेरका विषयमा कुराकानी गरेपनि गठबन्धनमै भने औपचारिक प्रस्ताव आएको छैन उनले बताए। वर्तमान सरकारमा कांग्रेसबाट दुई उपसभापति र प्रवक्तासहित ९ जना नेता मन्त्री छन् ।