सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सम्बन्धी निर्णय आज आउने भएको छ ।

गएको मंसिर ५ गते न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरू सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना तथा कानुन व्यवसायीबाट सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो । सो सिफारिसमाथि संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएको थियो ।

उक्त सुनुवाई समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन् ।

गत शुक्रवारबाट सुरु भएको संसदीय सुनुवाइ सोमबार सकिएको हो । संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी भएमा उजुरी दिन आव्हानसमेत गरेको थियो । समितिको सूचनाअनुसार प्रस्तावित न्यायाधीशमध्ये सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाविरुद्ध उजुरी परेको थियो भने महेश शर्मा पौडेल, सुनिल पोखरेल र बालकृष्ण ढकालविरुद्ध कुनै पनि उजुरी परेको थिएन ।

प्रस्तावित न्यायाधीशका विषयमा निर्णय गर्न संसदीय समितिको बैठक आजका लागि बोलाइएको छ । बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।