नवलपुरमा बालिका र महिलामाथि हुने यौनजन्य हिंसाको अवस्था भयावह रूपमा देखा पर्न थालेको छ ।

पछिल्लो समय कुनै अप्रिय घटना जिल्लामा नभए पनि महिला बालबालिकामाथि हुने हिंसाको अवस्था डरलाग्दो रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताउनुभयो । कावासोतीमा भएको नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२४ प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रममा सो कुरा बताइएको हो । नवलपुरमा यस वर्ष अभिलेख गरिएका ३८ वटा घटनामा सबै गैरराज्य पक्षबाट पीडित भएका छन् । हत्या एक, कुटपिट नौ, आगजनी एक, बलात्कार दुव्र्यवहार १७, अमानवीय व्यवहार एक, महिलाविरुद्ध घरेलु हिंसा आठ, बहुविवाहका एक घटना रहेको देखाइएको छ ।

जिल्लामा बलात्कार र यौन हिंसाका घटना बढी भएको छ । त्यसमा पनि परिवारकै सदस्यबाट यौन हिंसामा परेका जघन्य प्रकृतिका घटना भएका छन् । छ वर्षीय बालिकादेखि ५७ वर्षीय महिलासमेत यौन हिंसाबाट पीडित भएका छन् ।

इन्सेकको अभिलेख अनुसार नवलपुरमा सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ३८ वटा घटना अभिलेख भएको इन्सेक जिल्ला प्रतिनिधि ज्ञानु पङ्गेनीले जानकारी दिनुभयो । गत वर्ष ३७ घटना अभिलेख भएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीले पछिल्लो समय पुरुषसमेत हिंसामा परेका घटना समाजमा देखिने गरेको भन्दै पुरुषमाथि भएका हिंसालाई पनि इन्सेकले अभिलेख गर्न सुझाव दिनुभयो ।

त्यस्तै एमनेस्टी नवलपुरका उपाध्यक्ष हरि आचार्यले मानव अधिकारको रक्षा गर्न सरोकारवाला सबै पक्ष एक भएर लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले मानव अधिकारको रक्षाका लागि काम गर्ने सङ्घ संस्थाहरूले एकआपसमा सहकार्य गर्दै सचेतनाका काम र न्यायका लागि पहल गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयले यौनजन्य हिंसालाई न्यूनीकरण गर्नकै लागि विद्यालयमा सचेतनाको कार्यक्रम सञ्चालन गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । उहाँले द्वन्द्वको समयमा इन्सेकले मानव अधिकारको सवालमा निकै राम्रो काम गरेको स्मरण गर्दै मानव अधिकार रक्षाका लागि इन्सेकसँग आफूले समेत सहकार्य गर्दै आएको बताउनुभयो । गोरखापत्रबाट