तीन जना नाबालक छोरा–छोरी साथ लिएर जीर्ण  छाप्रोमा बस्दै आउनुभएकी फिदिम ५ की कोपिला सिवा अघिल्लो वर्ष बर्खाभर निदाउनु भएन । पानी पर्दा उहाँको घरमा छिरेर, छोरा–छोरी भिज्थे,ओछ्यान र अगेनो जोगाउन धौ–धौ पर्थ्यो । हिउँदमा ठिहि लाग्ने सिरेटो र शीत लहरले रातभर कठ्याङ्ग्रिनु पर्थ्यो । ‘नयाँ’ घर बनेकाले यो वर्ष पहिले जस्तो दुःख भएन, केटाकेटी लिएर मस्त निदाउन पाएकी छु घाम पानीको पिरलो नभएको’–उहाँले भन्नुभयो ।

ट्याक्टर दुर्घटनामा पति गुमाएपछि नाबालक छोरा छोरीका साथ बस्दै आउनु भएकी कोपिलालाई फिदिम नगरपालिकाले नयाँ घर बनाइ दिएको हो । फिदिम ११ का ७५ वर्षीय वृखध्वज लिम्बू जस्तापाताले छाएको नयाँ घरमा बस्न पाउनुभएको छ ।  जीवनको उत्तरार्धमा नयाँ घर बनेसँगै निन्द्रा पुग्ने गरी सुत्न पाएको उहाँ बताउनुहुन्छ ।  यसअघि ढुङ्गाको आडमा कटेरो बनाएर जीवन यापन गर्दै आउनुभएका उहाँलाई नगरपालिकाले केही महिना अगाडी नयाँ घर बनाइ दिएको हो ।

कमजोर आर्थिक अवस्था भएका वृखध्वज ८ जनाको परिवार असारमा नयाँ घरमा सरेका छन् । ‘ओभानोमा सुत्न पाइन्नथ्यो, किरा फट्याङ्ग्राको उत्तिकै सताउँथे, झरी परेका बेला कत्ति पटक आगो नबलेर भोक भोकै सुत्थ्यौैं , जीवनमै पहिलो पटक जस्ताले छाएको घरमा सर्न पाइयो,ओभानोमा बस्न पाइयो,स्वर्ग नै यही हो जस्तो लागेको छ ।’ लिम्बूले भन्नुभयो  । सिवा र लिम्बूको भन्दा दर्दनाक पीडा व्यहोरि रहनु भएकी फिदिम ५ मुङग्रेडाँडा जङ्गलकी शुकमाया तुम्बापो पनि छ जना नाबालक छोरा छोरी लिएर बस्तीमा सर्नुभएको छ ।

तुम्बापोलाई पनि नयाँ घर बनाउन फिदिम नगरपालिकाले जस्तापाता उपलब्ध गराएको हो । यो वर्ष नगरपालिकाले यहाँका एक सय ६८ वटा घर बनाउन जस्तापाता सहयोग गरेको छ । नगरपालिकाले अघि सारेको ‘सुन्दर घर,परिवारको रहर अभियान मार्फत यत्तिका सर्वसाधारणलाई घर बनाउन जस्तापाता सहयोग गरिएको मेयर मित्रप्रसाद काफ्लेले बताउनुभयो ।

नगरपालिकाले जस्तापाता उपलब्ध गराए पछि जनसेवा समाजको समन्वयमा नेपाली सेनाको श्रम सहयोग लिएर फिदिम ५ की कोपिला सिवाको घर बनाइ दिएको हो । फिदिम ५ की शुकमायाको घर बनाउने ज्यामी खर्च फिदिम ४ घर भएर बेलायत बस्दै आएकी सुक्मिता तुम्वापोले सहयोग गर्नुभएको थियो ।

नगरपालिकाले विपन्न परिवारको घर छाउन जस्तापाता उपलब्ध गराउँछ भने जिल्लामा क्रियाशील सामाजिक संस्था जन सेवा समाजले घर बनाउन श्रम र अन्य सहयोग जुटाउँछ । समाजले मात्रै हालसम्म वि–भिन्न व्यक्ति र संस्थाको सहयोग जुटाएर ५५ वटा घर बनाएको अध्यक्ष राजेन्द्र अधिकारी बताउनुहुन्छ ।

‘फिदिम ११ का वृखध्वजको परिवार ढुङ्गाको आडमा बनाइएको कटेरोमा कष्टप्रद जीवन बिताइरहेको जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले म र उप प्रमुखलाई सँगै लगेर देखाउनु भयो, तत्काल घर बनाउन जस्तापाता र २५ हजार नगद उपलब्ध गरायौँ, घर बन्यो ।’ काफ्लेले भन्नुभयो । वृखध्वजको घर बनाउन मेयर काफ्लेले व्यक्तिगत रूपमा थप २५ हजार उपलब्ध गराउनुभएको थियो ।

नगरपालिकाले नगर विकास कोषबाट विपन्न परिवारलाई घर बनाउन सहयोग गर्दै आएको छ । गत वर्ष साउन १ देखि असार ३१ गतेसम्म एक सय ६८ जनाको घर बनाउन कोषबाट छ लाख ६७ हजार ८ सय १० रुपियाँ खर्च गरेको छ । यो सँगै प्रमुख काफ्लेले राज्यबाट पाउने सुविधा बापतको रकम छुट्टै खातामा जम्मा गरेर अति विपन्न परिवारलाई उपलब्ध आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

विपन्न परिवारलाई जस्तापाता उपलब्ध गराइ नगरपालिकालाई फुस र चित्राको छानो मुक्त गराउने उद्देश्यले ‘सुन्दर घर,परिवारको रहर’ नारा अगाडी सारिएको काफ्ले बताउनुहुन्छ । यो वर्ष १ सय ४० जनालाई जस्तापाता दिएर घर बनाउन सघाउने योजना नगरपालिकाको छ ।गोरखापत्रबाट