नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरूविरुद्ध राज्यविरुद्धको कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले आज (सोमबार) गोरखापत्र दैनिकमा ३५ दिने पक्राउ पुर्जी जारी भएको सूचना प्रकाशित गरेको छ । चन्दसहित उनको पार्टीका उपत्यका विशेष ब्युरो इञ्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सूचनामा छ । उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो । २०७९ साउनमा पनि महासचिव चन्दलगायत आधा दर्जन नेताहरूविरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेको थियो । अदालतमा हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोट गराई कर्तव्य ज्यान र राज्यविरुद्धको कसुरमा मुद्दा चलेको थियो । हिंसात्मक गतिविधि गर्न थालेपछि २०७५ फागुन २८ गते सरकारले चन्द समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र चन्दको पार्टीबीच २०७७ फागुनमा सरकारले लगाएको मुद्दा खारेज गर्ने सहमति भएको थियो । त्यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मुद्दा खारेज गर्ने निर्णय मन्त्रिपरिषद्बाट नै गरेको थियो । तर‚ सरकारको निर्णयको पत्र अदालतमा नपुगेको भन्दै अदालतले सोमबार ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।