नेपालले फिफा विश्वकप र एएफसी छनोटको दोस्रो चरणमा यमनसँग २–० ले हार बेहोरेको छ।

घरेलु भूमीमा दशरथ रंगशालामा यमनविरुद्ध पहिलो पटक जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएको नेपालले दोस्रो हाफमा दुई गोल बेहोरेपछि नतिजा सुम्पिएको हो।

यमनको जितमा ओमार अब्दुलाह अल दाही र मोहम्मेद अब्दुलाह अल दाहीले दुई गोल गरे। यससँगै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा दोस्रो हार बेहोर्‍यो। यसअघि संयुक्त अरब इमिरेट्स (युएई ) सँग ४–० ले हार बेहोरेको नेपालले घरेलु भूमिमा पनि नतिजा सुम्पियो।

त्यसअघि खेलको तेस्रो मिनेटमा जिलेस्पी जंग कार्कीले बललाई पोस्टको दिशा दिने प्रयास गर्दा गोलरक्षकलाई फल गर्दा नेपालले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन।

११ औं मिनेटमा दायाँ विंगबाट दिनेशले दिएको क्रसमा जिलेस्पीले हेडर जित्न सकेनन्। लगत्तै अर्कोतर्फ यमनको आक्रमणमा नेपाली डिफेन्सको परिक्षण भएको थियो। २६ औ मिनेटमा ओमानका हम्जाह अहमदले डिएरिया भित्रबाट गरेको प्रहार गोलकिपर किरणले सहजै बचाए।

२८ औं मिनेटमा दिनेश हेन्जनको कर्नरमा कसैले हेडर जित्न सकेनन्। त्यस लगत्तै यमनको काउन्टर नेपालले विफल पार्यो। एक मिनेट पछि दिनेश कै बक्स बाहिरबाट लिएको प्रहार पोस्टको धेरै टाढा बाट बाहिरियो।

३२ औं मिनेटमा अहमद महेरको लामो प्रहार बार माथिबाट बाहिरियो। ३२ औं मिनेटमा अहमद महेरको प्रहार पोस्टको माथि बाट बाहिरियो। ३८ औं मिनेटमा मोहम्मद अल वाजिहको प्रहारले पनि पोस्टको दिशा लिन सकेन।

पहिलो हाफको अन्त्यतिर यमनले बलमा नियन्त्रण राखे पनि अवसर भने सृजना गर्न सकेन। ५० औं मिनेटमा अब्दुलाह अल दाहीले गरेको शसक्त प्रहार गोलकिपर किरणले मुस्किलले बचाए। त्यसको दुई मिनेटमा नै कर्नर प्रहारमा गोल गर्ने नेपालको रणनीति सफल हुन सकेन। ६१ औं मिनेटमा हिसुब थपलियाले गोल गर्ने सुन्दर अवसर गुमाए।

यमनका गोलकिपर अब्दुलाह अल सादी अगाडि बढेको समयमा उनको ओभर हेड प्रहार सफल हुन सकेन। ६५ औं मिनेटमा यमनले गोल गरे पनि रेफ्रीले अफसाइड निर्णय दिए। अल खादिर सलिमको प्रहारले मान्यता पाएन।

७३ औं मिनेटमा ओमार अब्दुलाह अल दाहीले पेनाल्टी क्षेत्रबाट उत्कृष्ट प्रहार गर्दै ओमानलाई अग्रता दिलाए। ७६ औं मिनेटमा अहमद महेरले नजिकको दूरीबाट गोल गर्ने अवसर गुमाए। नेपालका दुई डिफेन्डर छल्याउँदै उनले गरेको प्रहार बार माथिबाट बाहिरिन पुग्यो।

त्यस्तै ८७ औं मिनेटमा यनमका नासिर अल गहावासीले ३५ यार्ड टाढाबाट गरेको शसक्त प्रहार नेपालका गोलकिपर किरणले पन्च गर्दै बचाए। अन्तिम समयमा यमनले दोस्रो गोल गर्दै जितनजिक पुग्यो।

९० औं मिनेटमा मोहम्मेद अब्दुलाह अल दाहीले दुई डिफेन्डरलाई बिट गर्दै सहज गोल गरे।