मंसिर ७ गते हुने सम्भावित भिडन्त रोक्न नेपाल सरकारले चार वटै सुरक्षा निकाय परिचालन गर्ने तयारी गरेको छ। नेकपा (एमाले)ले आफ्ना जनसंगठन मार्फत शक्ति प्रदर्शन गर्न लागेको र विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले पनि शक्ति प्रदर्शन गर्न लागेको छ ।  जिल्ला सुरक्षा समितिको छलफलले मंसिर ७ गते प्रहरी र सशस्त्र प्रहरीलाई फिल्डमा तथा नेपाली सेनालाई ब्याकअपमा राख्ने निर्णय गरेको छ। साथै राष्ट्रिय अनुसन्धानको टोली पनि परिचालन हुनेछ। ‘प्रहरी अग्रभागमा बसेर काम गर्छ। सशस्त्र प्रहरी पनि फिल्डमा खटिन्छ। राष्ट्रिय अनुसन्धानको आफ्नै तरिकाले काम गर्छ। नेपाली सेनालाई ब्याकअप फोर्सको रूपमा तयारी अवस्थामा राख्ने कुरा भएको छ,’ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी दीपक थापाले भने। युवा संघ र प्रसाईं पक्षले मंसिर ७ गते माइतीघर मण्डलमा कार्यक्रम गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई बोलाएर सोमबार छलफल गरेको थियो। उक्त छलफलपछि युवा संघले कार्यक्रम तीनकुनेमा गर्ने बताएको छ। प्रसाईं पक्षले बल्खुमा गर्ने भएको छ। प्रशासन कार्यालयले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको छ। पछिल्लो समय युवा संघ इन्चार्जसमेत रहेका महेश बस्नेत र मेडिकल व्यवसायी प्रसाईंबीच आरोप प्रत्यारोप भइरहेको छ।