काठमाडौं, कात्तिक १४ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताउनुभएको छ । मङ्गलबार काठमाडौँको आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९ औँ एकल चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले नेपालको विकास हुन नसक्नुको कारण शासक वर्ग र बाह्य शक्ति रहेको चर्चा गर्नुभयो । नेपालीहरू लामो समयसम्म हातमुख जोड्न लागिपरेको र साहित्य, संस्कृति र कला सिक्ने र हेर्ने अवसर नै प्रदान नगरिएको बताउनुभयो । विभिन्न कालमा शासन गर्नेहरूले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पाछिपरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘लामो समयसम्म त हामी हातमुख जोड्ने समस्यामा नै लाग्यौँ । हामीलाई त्यसप्रकारका अवसरहरू लिनै दिइएन । राणा शासन र त्योभन्दा अगाडि हामीले अरू कुनै शासनलाई पनि जोगाइरहनु हुँदैन । राणा गए, अब अरू शासन चाहिँ राम्रा थिए भनेर जोगाउनु पर्ने केही छैन । त्यसभन्दा अघि दुनियाँ विकसित हुँदा हाम्रोमा केही विकास नहुने कसले गर्दा हो ?’

शासकहरूको कारणले देशको विकास नभएको हो, हामी पछि प¥यौँ । पछाडि पारिएको हुनाले पछि प¥यौँ । बाह्य शक्तिले हामीलाई पछि पारे उहाँले भन्नुभयो, ‘शासकको स्वार्थका कारणले आन्तरिक शासक वर्गले पनि हामीलाई पछाडि पारे । कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जनमा सीमित भयो । आम जनताको र देशको विषय बनेन । तर अब हामी अघि बढ्छौँ ।’

गोरखापत्र दैनिक बाट