नेता चुनेको १७ महिनापछि कांग्रेसको नीति अधिवेशन

काठमाडौं । २०७८ मंसिरमा पार्टीको १४औं महाधिवेशन गरेर नेतृत्व चुनेको दल नेपाली कांग्रेसले नेता चुनेको १७ महिनापछि नीति तय गर्ने अधिवेशनको तयारी गरेको छ । कांग्रेसको १४औं महाधिवेशनपछि पार्टी नेतृत्वमा शेरबहादुर देउवा चुनिएका थिए भने पदाधिकारी र केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए ।

कांग्रेस विधानमा नेता चुन्ने महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र पार्टीको नीति तय गर्न छुट्टै अधिवेशन डाक्ने व्यवस्था छ । तर, कांग्रेस नेतृत्वले विधानको व्यवस्थालाई वेवास्था गर्दै महाधिवेन सकिएको ६ महिनाभित्र गर्नुपर्ने नीति अधिवेशन १७ महिना बित्दासमेत गर्न सकेको छैन ।

सोही कारण कांग्रेसको मर्गचित्रसमेत अस्पष्ट रहँदै आइरहेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको नीति अधिवेशन, भ्रातृ संगठनमा नेतृत्व र पूर्णता, पार्टीको संगठन सुदृढीकरण र रिक्त विभागलाई पूर्णता दिनेलगायतका विषयमा पार्टीभित्र अनौपचारिक रूपमै भए पनि गहन छलफल सुरु भइसकेको जानकारी दिए ।

‘नीति अधिवेशन, भ्रातृ संगठनमा नेतृत्व र पूर्णता, पार्टीको संगठन सुदृढीकरणलगायतका विषयमा गम्भीर र गहन रूपमा छलफल सुरु भइसकेको छ, भदौमा नीति अधिवेशन गर्नेगरी योजना बन्दै छ, आगामी केन्द्रीय समिति बैठकबाट सबै कुराको टुंगो लाग्छ,’ कांग्रेस महामन्त्री शर्माले राजधानीसँग भने । कांग्रेसले प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि निर्वाचनको समीक्षा बैठकसमेत राखेको छैन ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षासमेत कांग्रेसले औपचारिक रूपमा बैठक डाकेर गर्न सकेको छैन । ‘लामो समययता पार्टीको केन्द्रीय समिति बस्न नसक्दा धेरै कुरामा अलमल भएका छन्, यही वैशाख अन्तिम साता केन्द्रीय समिति बैठक बोलाउनेगरी छलफल भइरहेको छ,’ कांग्रेस पार्टी कार्यालयका एक कर्मचारीले भने ।

कांग्रेसभित्र गत १० वैशाखमा सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनको परिणामपछि झनै संगठन सुदृढीकरणको आवाजसमेत चर्को रूपमा उठ्दै आइरहेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको संगठन सुदृढीकरणका लागि नेताबीच अनौपचारिक छलफल र संवाद सुरु भएको जानकारी दिए ।

‘शीर्ष तहमा पार्टीको संगठन सुदृढीकरणका लागि छलफल भइरहेको छ, छिट्टै संगठन सुदृढीकरण अघि बढ्छ,’ कांग्रेस मुख्यसचिव पौडेलले भने । कांग्रेस महामन्त्री शर्माले पनि संगठन सुदृढीकरणका लागि केन्द्रीय तहका नेतालाई नै जिल्लामा कमान्डर तोक्नेगरी तयारी भइरहेको जानकारी दिए ।

कांग्रेसले कुन मोडालिटीमा संगठन सुदृढीकरणलाई अघि बढाउँछ भन्ने विषयमा भने कुनै खाका बनाएको छैन । सो विषयसहित नीति अधिवेशनका विषयमा आइतबार सभापति देउवाको निवास धुम्बाराहीमा केही पदाधिकारीसहितका नेताबीच छलफल भएको थियो ।

कांग्रेस मुख्यसचिव पौडेलले कुन मोडालिटीमा संगठन सुदृढीकरण अघि बढाउने भन्ने विषयमा कुनै खाका तयार नभइसकेको तर आमनागरिकलाई लक्षित गरेर संगठन सुदृढीकरण गरिने जानकारी दिए । कांग्रेसले गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेको थियो । तर, १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा भने कांग्रेसले पहिले जित हात पारेको तनहुँ १ गुमाएको थियो ।

उपनिर्वाचनमा पराजय व्यहोरेपछि कांग्रेस वृत्तमा ‘सक्किने कि सच्चिने ?’ भन्ने प्रश्न उठ्न थालेको छ । उपनिर्वाचनमा पार्टीले पराजय भोगेपछि कांग्रेस महामन्त्री गगन थापाले पनि पार्टी रूपान्तरणको स्पष्ट मार्गचित्र लिएर आउने बताउँदै आएका छन् । उनले रूपान्तरण योजना सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिने भन्दै केही दिनअघि समाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् ।

महामन्त्री थापाले विभिन्न क्षेत्रबाट आएका सुझाव, विचार र विश्लेषणलाई आत्मसात् गरेर इमानदार आत्मसमीक्षा गर्ने समय भएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीमा जहाँ समस्या छ त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन ।’ थापाले पार्टीलाई जनभावनाअनुसार नयाँ जीवन दिनेगरी लाग्नुपर्ने भन्दै आफैंतिर फर्केर निर्मम समीक्षा गर्नुपर्ने भनेका छन् ।

‘आमअपेक्षाअनुरूप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिन कि भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु, ‘पार्टीका साथीहरू, समर्थक, शुभेच्छुक तथा बौद्धिक समुदायसँग परामर्श र आमनागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रमसहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं ।

कांग्रेस महामन्त्री थापाले पार्टीलाई जनचाहनाअनुसार अझै लोकतान्त्रिक, प्रगतिशील, समावेशी र निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित गर्नेसमेत दाबी गरेका छन् । १४औं महाधिवेशनबाट नेतृत्व चयन गरेर पार्टीको नीतिका लागि ६ महिनाभित्र छुट्टै अधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको १७ महिना बित्दासम्म कांग्रेस नीतिविहीन अवस्थामै छ । नीति निर्धारण नहुँदा कांग्रेसको मार्गदिशा नै अनिश्चित बन्दै आइरहेको छ ।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आचार्य नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् । आचार्यलाई कांग्रेस विधान, २०१७ (संशोधनसहित)को धारा ३६ (घ) बमोजिम प्रतिष्ठानका प्रमुख रहेका पार्टी उपसभापति प्रमुख पूर्णबहादुर खड्काले नियुक्त गरेका हुन् ।

डा. आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । यस्तै, उनले कांग्रेसका विभिन्न समितिमा रहेर कामसमेत गरिसकेका छन् ।राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *