काठमाडौं । टिकटकमाथि लगाएको प्रतिवन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज (सोमबार) बाट सुनवाइ हुने भएको छ । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको १० रिटमा सोमवारका लागि पेसी तोकिएको थियो । जसअनुसार सो प्रतिबन्ध खुलाउन माग गर्दै दायर रिटमाथि आजबाट सुनवाइ हुन लागेको हो । हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिवन्ध लगाए पछि अदालत खुलेको पहिलो दिन अर्थात मंसिर १ गते सर्वोच्च अदालतमा १० रिट निवेदन परेका थिए। उक्त रिट निवेदनमा पहिलो सुनवाइ गर्नका लागि मंसिर ४ गतेका लागि पहिलो पेसी तोकिएको अदालतले जानकारी दिएको थियो । शनिबार तथा आइतबार छठ पूजाको सार्वजनिक विदा भएकाले सोमबारलाई पेसी तोकिएको हो । सरकारको निर्णय गैरकानुनी एवं गैर संवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन रिट निवेदनमा माग गरेका छन् । सरकारले सामाजिक सञ्जाल टिकटकमा सामाजिक सदभाव भड्काउने, उश्रृंखल गतिविधि हुन थालेको र यसले समाज र देशलाई नै असर गर्ने भन्दै नेपालमा टिकटक चलाउन नमिल्ने बनाएको थियो ।  छिमेकी भारतलगायत विश्वका दर्जनबढी देशहरुले टिकटकलाई प्रतिवन्ध गरेका छन् ।