टर्की भूकम्पमा हालसम्म १५ हजारबढीको मृत्यु

इस्तानबुल । टर्की पूर्वीभाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी बिहीबार बिहानसम्म १५ हजारभन्दा बढीको मृत्यु भएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।

हालसम्म टर्कीमा १० हजार १ सय ८ र सिरियामा ४ हजार ४ सय ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीले बताएका छन् । टर्कीमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन् ।

प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ । यद्यपि, उद्धारकर्मी भग्नावशेषमा पुरिएकाको खोजीमा जुटेका छन् ।

करिब ६ हजार भवन भत्केकाले ज्यान गुमाउनेको संख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन् । उद्धार तथा राहत अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघ अधिकारीले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् । भूकम्पबाट अतिप्रभावित १० प्रान्तमा तीनमहिने आपत्काल घोषणा गरिएको छ ।

अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेका छन् । बेलायतका नवनियुक्त सत्तारूढ कन्जरभेटिभ पार्टी अध्यक्षले टर्कीको अनुरोधनुसार थप सहायता उपलब्ध गराउने बताएका छन् ।

युरोपेली संघ, रुसी महासंघ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रिस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अस्ट्रेलियाले पनि आफ्नो सामथ्र्यनुसार आर्थिक एवं भौतिक सहायता उपलब्ध गराएका छन् । इजरायल, चीन र भारतले चिकित्सक, इन्जिनियर र भारी उपकरणसाथ उद्धारकर्मी परिचालन गरेका छन् ।

प्रतिकूल मौसमको परवाह नगरी भत्किएका भवनका भग्नावशेषबाट बाँचेकालाई बाहिर निकाल्न उद्धारकर्ता संघर्ष गरिरहेका छन् ।

टर्कीका राष्ट्रपति तैयप एर्दोगानले अतिप्रभावित १० प्रान्तमा संकटकाल घोषणा गरेका छन् । क्षतिग्रस्त टर्कीका सहरका बासिन्दा पर्याप्त सहायता प्राप्त नभएकामा निराश भएका छन् । उनीहरूले छानुबिना आफूहरू हिउँमा बस्नुपरेको, आफन्त बेपत्ता भएका, उद्धारले अपेक्षित गति नलिएकामा दुःख व्यक्त गरेका छन् ।

सोमबारको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प, त्यसको केही घण्टापछि झन्डै त्यति नै शक्तिशाली दोस्रो परकम्पले अस्पताल, विद्यालय र आवासीय भवन ध्वस्त हुनुका साथै हजारौं घाइते भएका छन् । उत्तरी सिरियामा पनि असंख्य मानिस घरबारविहीन भएका छन् ।

क्षतिग्रस्त सडक, प्रतिकूल मौसम, स्रोतसाधन र भारी उपकरणको अभावले सबैभन्दा बढी प्रभावित क्षेत्रमा सहायता परिचालनमा विलम्ब भएको सुरक्षा अधिकारीले स्वीकार गरेका छन् । उनीहरूले उपलब्ध स्रोतसाधनको अधिकतम् उपयोग गर्दै यथाशक्य पीडितमाझ पुग्ने प्रतिबद्धता जनाएका छन् । कतिपय क्षेत्रमा इन्धन र बिजुली नहुँदा जीवन अकल्पनीय कष्टकर भएको छ ।

भूकम्पपीडितले खेलस्थल, व्यापार मेला आयोजना गर्ने स्थानका साथै खुला आकाशमुनि आगो बालेर रात गुजारेका थिए । गाजियान्तेप सहरका बासिन्दाले रंगशाला, किनमेल केन्द्र, मस्जिद र सामुदायिक केन्द्रमा आश्रय लिएका छन् ।

मानवीय सहायता अधिकारीले करिब १२ वर्षको गृहयुद्धपछि मानवीय संकटपीडित सिरियाको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरूले बालबालिका र महिला अधिक प्रभावित भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय समुदायले प्रदान गरेका सहायता सामग्री टर्की पुग्न थालेका छन् । टर्कीलाई अहिले नगदको आवश्यकता परेको अन्तर्राष्ट्रिय सहायता निकायले बताएका छन् । अमेरिकी खोज तथा उद्धार टोली टर्की आउने भएको छ ।

युरोपेली संघ र संघमा आबद्ध १३ देशले राहत सामग्रीसहितको उद्धार टोली परिचालन गरेका छन् । मंगलबार टर्की र सिरियाका भूकम्पपीडितका लागि चीन, भारत, जापान, फिलिपिन्स, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत मुलुकले आर्थिक एवं भौतिक सहयोगको घोषणा गरेका थिए ।

राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *