नेपाल भने भिसा वेभर कार्यक्रमका मापदण्डहरु पूरा गर्न नसकेका कारण अमेरिकाको भिसा छुट कार्यक्रमका लागि अयोग्य भएको हो । यो कार्यक्रमका लागि योग्य हुन अमेरिकन नागरिकका लागि पनि समान प्रकारको भिसा छुटको सुविधा दिइएको हुनुपर्छ भने दूतावास वा कन्सुलेटमा भिसा आवेदन दिंदा भिसा अस्वीकृत दर ३ प्रतिशतभन्दा कम हुनुपर्छ । नेपालीको भिसा अस्वीकृत दर ५० प्रतिशतको हाराहारीमा छ । त्यस्तै अमेरिका आइसकेपछि भिजिटर भिसाको ओभरस्टे दर पनि कम हुनुपर्छ । तर नेपालको ओभरस्टे दर पनि यो मापदण्डमा नपर्ने गरी उच्च रहेको छ । मुख्य रुपमा यी तीनवटा मापदण्ड पूरा गर्नैपर्ने भएपनि अन्य मापदण्डहरु पनि रहेका छन् ।

पासपोर्ट चोरी भएको वा हराएको रिपोर्ट २४ घण्टाभित्र इन्टरपोलमार्फत अमेरिकालाई दिनुपर्ने, मेसिन रिडेबल पासपोर्ट लागु गरेको हुनुपर्ने लगायतका ८ वटा मापदण्ड पूरा गरेका मुलुकमात्र अमेरिकाको भिसा वेभर कार्यक्रमका लागि योग्य हुन्छन् । नेपाल भिसा वेभर कार्यक्रमका लागि अयोग्य हुनुको मुख्य कारण अमेरिकाले नेपालीलाई भिसा अस्वीकृत गर्नेदर अत्याधिक हुनु र ओभरस्टे दर उच्च हुनु हो ।

अमेरिकामा भिजिटर भिसामा ओभरस्टे हुने नेपालीको संख्या र प्रतिशतमा रेकर्ड ब्रेक, गतबर्षको तुलनामा दोब्बर

अमेरिकामा भिजिटर भिसामा आएर ओभरस्टे हुने नेपालीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । अमेरिकामा आर्थिक बर्ष २०२२ मा भिजिटर भिसामा आएर ओभरस्टे हुने नेपालीहरुको दर १२ दशमलव ३१ प्रतिशत रहेको छ । जसमध्ये १० दशमलव ८९ प्रतिशत ओभरस्टे भएरपनि अमेरिकाभित्रै बसे भने बाँकीले ओभरस्टे भइसकेपछि अमेरिका छाडेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ ।

गत आर्थिक बर्ष २०२२ मा अमेरिकामा भिजिटर भिसामा रहेका १४ हजार ६९९ जनाले अमेरिका छाड्ने अपेक्षा गरिएको थियो । तर उनीहरुमध्ये २०८ जनाले ओभरस्टे भइसकेपछिमात्र अमेरिका छाडे भने १६०१ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकाभित्रै बसे । यसरी आर्थिक बर्ष २०२२ मा कुल १८०९ जना भिजिटर भिसामा रहेका नेपालीहरु ओभरस्टे भए । उनीहरु भिसा अवधि नसकिदै अमेरिकाबाट फर्केनन् भने अमेरिकामा पनि स्टाटस परिवर्तन गरेनन् वा अन्य कुनै अध्यागमन सुविधाका लागि आवेदन दिएनन् ।

आर्थिक बर्ष २०२१ को तुलनामा यो दर झण्डै दोब्बर हो । आर्थिक बर्ष २०२१ मा अमेरिकामा भिजिटर भिसामा रहेका ३५०७ जना नेपालीहरुले अमेरिका छाड्ने अपेक्षा गरिएको थियो । तर १५२ जनाले ओभरस्टे भइसकेपछिमात्र अमेरिका छाडे भने १४६ जना ओभरस्टे भएर पनि अमेरिकामा नै बसिरहे । यसरी आर्थिक बर्ष २०२१ मा कुल २९८ जना नेपालीहरु अमेरिकामा ओभरस्टे भए । प्रतिशतमा हेर्दा भिजिटर भिसामा आएका नेपालीको कुल ओभरस्टे दर ८ दशमलव ५ प्रतिशत थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरु ४ दशमलव १६ प्रतिशत थिए ।

कोरोना महामारीका बाबजुत पनि आर्थिक बर्ष २०२० मा अमेरिकामा भिजिटर भिसामा आएका जम्मा १२६१ जना नेपालीहरु ओभरस्टे भए । जसमध्ये ७१७ जना ओभरस्टे भइसकेपछि पनि अमेरिकाभित्रै बसेका थिए भने ५४४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेका थिए ।

आर्थिक बर्ष २०२० मा भिजिटर भिसामा आएका २७ हजार ७ सय १२ जना नेपालीहरुले अमेरिका छाड्नुपर्ने थियो । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको दर ४ दशमलव ५५ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर २ दशमलव ५९ प्रतिशत रहेको थियो । अघिल्लो बर्षको तुलनामा महामारीको पहिलो बर्ष २०२० मा अमेरिकामा ओभरस्टे हुने नेपालीहरुको संख्या र प्रतिशत दुबै बढी थियो ।

आर्थिक बर्ष २०१९ मा २७ हजार ९६ नेपालीले अमेरिका छाड्नुपर्ने थियो तर उनीहरुमध्ये ६७४ जना अमेरिकाभित्रै ओभरस्टे भए भने २४२ जनाले ओभरस्टे भएपछि अमेरिका छाडे । भिजिटर भिसामा आएर कुल ओभरस्टे हुनेहरुको संख्या ९१६ र प्रतिशत ३ दशमलव ३८ रहेको थियो । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको दर ३ दशमलव ३८ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर २ दशमलव ४९ प्रतिशत रहेको थियो ।

आर्थिक बर्ष २०१८ मा भिजिटर भिसामा अमेरिका गएका २७ हजार २ सय ५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ९७० जना अमेरिकाभित्रै ओभरस्टे भए भने २१५ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । भिजिटर भिसामा आएर कुल ओभरस्टे हुनेहरुको संख्या ११८५ र प्रतिशत ४ दशमलव ३६ प्रतिशत रहेको थियो । अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ३ दशमलव ५७ प्रतिशत रहेको थियो ।

आर्थिक बर्ष २०१७ मा भिजिटर भिसामा अमेरिका गएका २४ हजार २ सय ४० नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ४५० जना अमेरिकाभित्रै ओभरस्टे भए भने ११४ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ५६४ र दर २ दशमलव ३३ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर १ दशमलव ८६ प्रतिशत रहेको थियो ।

आर्थिक बर्ष २०१६ मा भिजिटर भिसामा अमेरिका गएका १८ हजार ७ सय ७५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ७८९ जना अमेरिकाभित्रै ओभरस्टे भए भने १५७ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ९४६ र दर ५ दशमलव ४ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ४ दशमलव २ प्रतिशत रहेको थियो ।

आर्थिक बर्ष २०१५ मा भिजिटर भिसामा अमेरिका गएका १५ हजार ३ सय ३२ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ४९२ जना नेपाली अमेरिकाभित्रै ओभरस्टे भए भने ७२ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ५६४ र दर ३ दशमलव ६८ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ३ दशमलव २१ प्रतिशत रहेको थियो ।

त्यस्तै आर्थिक बर्ष २०१४ मा भिजिटर भिसामा अमेरिका गएका ११ हजार ८ सय ९५ नेपालीले अमेरिका छाडनुपर्ने थियो तर ४१४ जना नेपाली अमेरिकाभित्रै ओभरस्टे भए भने ३९ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडे । उक्त आर्थिक बर्षमा अमेरिकामा भिजिटर भिसामा गएर ओभरस्टे हुने नेपालीहरुको संख्या ४५३ र दर ३ दशमलव ८१ प्रतिशत रहेको थियो भने अमेरिकाभित्रै ओभरस्टे हुनेहरुको दर ३ दशमलव ४८ प्रतिशत रहेको थियो ।

 भिजिटर भिसा अस्वीकृत दर १९ दशमलव ८५ प्रतिशत

आर्थिक बर्ष २०२२ मा अमेरिकाको भिजिटर भिसाका लागि नेपालीको भिसा अस्वीकृत दर १९ दशमलव ८५ प्रतिशतमात्र रहेको थियो । अर्थात् झण्डै ८० प्रतिशत आवेदकले भिसा पाए ।

अमेरिकाले आर्थिक बर्ष २०२१ को १२ महिनामा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको थियो । अर्थात् झण्डै ८१ प्रतिशत आवेदकले भिसा पाए  ।

आर्थिक बर्ष २०२१ मा झण्डै १५ सय नेपालीका भिजिटर भिसाका आवेदनहरुमात्र अमेरिकाले अस्वीकार गरेको थियो ।  यो बर्ष झण्डै ९ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिएका थिए । जसमध्ये विना अन्तरवार्ता भिसा नविकरणको आवेदन दिनेहरु उल्लेख्य थिए । २०२१ मा नेपालीहरुलाई अमेरिकाको भिसा दिने दर ऐतिहासिक रुपमा उच्च बनेको हो ।

त्यस अगाडि आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको थियो । यद्यपी सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको प्रतिशत दर त्यस अगाडिका ३ बर्षको तुलनामा सबैभन्दा उच्च थियो ।

आर्थिक बर्ष २०२० को तुलनामा २०२१ मा भिसा पाउने प्रतिशत दर बढेपनि संख्या भने घटेको छ । २०२० मा ७ हजार ७ सय ५१नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्राप्त गरेकोमा २०२१ मा यो संख्या अझ घटेको छ ।

आर्थिक बर्ष २०२० मा झण्डै १५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ७ सय ५१ जनाको भिजिटर भिसा स्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

नेपालीको भिजिटर भिसा अस्वीकृत दर आर्थिक बर्ष सन् २०१९ मा ५० दशमलव ७ प्रतिशत र २०१८ मा ५१ दशमलव ५ प्रतिशत रहेको थियो । आर्थिक बर्ष २०१७ मा भने अस्वीकृत दर ४६ दशमलव ४ प्रतिशतमात्र थियो ।

आर्थिक बर्ष २०१८ मा भने नेपालीहरुको भिजिटर भिसा अस्वीकृत दर सन् २०१२ पछिकै सबैभन्दा धेरै रहेको थियो । सन् २०११ मा भने त्योभन्दा पनि धेरै कुल आवेदकमध्ये ५९ दशमलव ९ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको थियो । सन् २००६ देखि सन् २०११ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुभन्दा नपाउनेहरुकै प्रतिशतदर उच्च थियो ।

तर सन् २०१२ देखि २०१७ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुको प्रतिशत नपाउनेहरुको तुलनामा बढी थियो । सन् २०१४ मा त कुल भिजिटर भिसाका नेपाली आवेदकहरुमध्ये ६१ दशमलव ८ प्रतिशतले भिसा पाएका थिए । कुल आवेदकमध्ये जम्मा ३८ दशमलव २ प्रतिशत नेपाली आवेदकको भिजिटर भिसा अस्वीकृत भएको थियो ।

समाचारमा उल्लेख भएको संख्या र प्रतिशत अमेरिकी दूतावास काठमाडौंको मात्र होइन, नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएका विश्वका कुनै पनि देशमा रहेका अमेरिकी दूतावास वा कन्सुलेटको हो ।