राष्ट्रपति निर्वाचनः प्रधानमन्त्री दाहालको जवाफले एमाले अध्यक्ष ओली असन्तुष्ट

काठमाडौं । राष्ट्रपतिको निर्वाचन मिति नजिकिदै जाँदा राजनीतिक दलका शीर्ष नेताबीच आन्तरिक छलफलले तीव्रता पाएको छ । राष्ट्रपति कुन दलको हुने भन्ने अन्योलका बीचमा शीर्ष नेताहरू आफ्नो पक्षमा बहुमत जुटाउन लागेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुनै लाग्दा आगामी २५ फागुनमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लिएर राजनीतिक दलका शीर्ष नेताले आन्तरिक छलफललाई तीव्रता दिएका हुन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति चयनसहित समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सोमबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओलीसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा छलफल भएको थियो ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचनलाई लिएर दिनहुँ छलफल हुँदै आएको छ । प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरणले शीर्ष नेताबीच राष्ट्रपति चयनका साथै पछिल्लो समसामयिक राजनीतिका ’boutमा छलफल भएको बताए ।

राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै गर्नुपर्ने पक्षमा रहेका प्रधानमन्त्री प्रचण्डले सहमतिका लागि शीर्ष नेतासँग छलफल थालेका हुन् । मंगलबारको छलफलमा एमाले अध्यक्ष ओलीले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुन नसक्ने भएकाले सरकार गठनअघि भएको सहमतिनुसार एमालेलाई माओवादी केन्द्रले समर्थन गर्नुपर्ने बताए ।

तर, प्रधानमन्त्री प्रचण्डले भने आफूलाई विश्वासको मत दिएको कांग्रेसलगायतका दलसँग समेत छलफल गर्दै अघि बढ्नुपर्ने जवाफ दिएका छन् । विश्वासको मत दिएपछि सबैसँग छलफल गर्नु आफ्नो दायित्व भएको जवाफ दिएपछि एमाले अध्यक्ष ओली असन्तुष्ट बनेका छन् । स्रोतका अनुसार एमाले अध्यक्ष ओली जसरी पनि एमालेकै राष्ट्रपति हुनुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिमै चयन गर्नुपर्ने पक्षमा उभिदै आएका छन् ।

पूर्वसहमति कार्यान्वयनमा माओवादीले इमान्दारित नदेखाएको भन्दै एमाले अध्यक्ष ओलीले असन्तुष्टी पोखेका छन् । पूर्वसहमतिमै माओवादीले प्रधानमन्त्री पाइसकेपछि माओवादीले राष्ट्रिय सहमतिको ‘रटान’ किन लगाएको भन्दै ओलीले प्रश्नसमेत गरेका छन् ।

राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै गर्ने विषयमा शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका भए पनि उनीहरू आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकिरहेको छैन । प्रचण्ड र ओलीका बीचमा समेत सहमति जुट्न नसक्दा छलफल लम्बिदै गएको एक नेताले बताए ।

राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख तीन दलको आ–आफ्नै रणनीति छ । माओवादी राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा उभिदै आएको छ भने एमाले सत्तारूढ दलका बीचमा भएको सहमतिनुसार आफूले पाउनुपर्ने पक्षमा छ । त्यसैगरी, प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेपाली कांग्रेस आफूहरूलाई माओवादीले सहयोग गर्नुपर्ने भनिरहेको छ ।

सत्तारूढ दलबीच भएको सहमतिनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेकाले राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले समर्थन गर्नुपर्ने एमाले नेताहरूले बताउँदै आएका छन् ।

माओवादी केन्द्रले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिमै गर्नुपर्ने यसअघि नै निर्णय गरिसकेको छ । प्रधानमन्त्री प्रचण्ड त्यसैका लागि सहमति जुटाउने प्रयासमा छन् । प्रधानमन्त्री प्रचण्डले सहमतिमै राष्ट्रपति चयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । संसद्मा विश्वासको मत लिने बेलामा दुई सांसदबाहेक सबै दलका सांसदले विश्वासको मत दिएकाले सबैको छलफल एवं सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।

राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *