बैंकहरुले ब्याजदर घटएसँगै सेयर बजारमा पनि सकारात्मक संकेत देखिएको छ । मंगलबार नेप्से सूचक १३.१८ विन्दुले बढेर १८६४.६२ अंकमा आएको छ । करिब १ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । १३ मध्ये १० वटा समूह बढेका छन् ।  नेप्से सुचक बढ्दा कारोबार रकम भने औसतमा न्यून नै रहेको छ । चाडपर्वमा खर्च जोहो गर्नुपर्ने बाध्यताले बजारमा ब्याजदर घटेको खबर आउँदा पनि अपेक्षाकृत सुधार हुन नसकेको अनुमान गरिएको छ ।  तर विस्तारै गति समाउन सक्ने आँकलन लगानीकर्ताहरुले गरिरहेका छन् । एकातिर ब्याजदर घटेको छ भने अर्को केन्द्रीय बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो तथ्यांकले अर्थतन्त्रको अवस्था सकारात्मक बनेको देखाएको छ । अर्थतन्त्रका बाह्य सूचकहरु सबल देखिएका छन् । रेमिटेन्स बढेको छ भने शोधनान्तर र चालु खाता दुवै सकारात्मक रहेका छन् । विगतको तुलनामा पछिल्ला दिनहरुमा सेयर बजारका लागि क्रमशः सकारात्मक खबरहरु आइरहेका छन् । नियामकले विस्तारै नीतिगत सुधारका कार्य अघि बढाएको छ । ब्याजदर घट्न थालेको छ । बैंकिङ प्रणालीमा तरलता सहज भएको छ । अर्थतन्त्रका सूचक सबल बन्न थालेका छन् । यस्तो अवस्थामा सेयर बजारले पनि क्रमशः सकारात्मक बाटो तय गर्दै जाने विश्लेषण गर्न सकिन्छ । यद्यपि, अहिले नै  सुधार भइसकेको अवस्था भने छैन ।  चाडपर्वका बेला सेयर किन्ने भन्दा पनि बेच्न बढी दबाब पर्नु, यस्तै, असोज मसान्तको दबाब लगायतले बजार यतिबेला माथि जान नसकेको अनुमान गरिएको छ । यस्तै, बजार निरन्तर घटेपछि आम लगानीकर्ताको मनोविज्ञान पनि निकै कमजोर भएको छ । अब बजार सुधारका लागि सर्वसाधारण लगानीकर्ताको मनोबल सुधार्न जरुरी छ । घटेको बजार पुनः माथि जान्छ भन्ने आत्मविश्वास पैदा हुन आवश्यक छ । आम लगानीकर्ताको मनोवज्ञान कमजोर भएकै कारण लाभांशको सिजनमा पनि बजार निरन्तर घट्दै आएको छ । वर्षभरिको कमाईबाट सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन् । कतिपयले साधारण सभा गरेर लाभांश प्रस्ताव अनुमोदन पनि गरिसकेका छन् । तर यी कुराहरुको सकारात्मक प्रभाव अहिलेसम्म बजारमा देखिएको छैन ।   साउन पहिलो सातादेखि नै बजार लगातारजसो घटिरहेको छ । विशेषगरी, मौद्रिक नीति जारी भएपछि बजार तीब्र गतिमा नकारात्मक प्रतिक्रिया जनाउन थालेको हो । यो क्रम अहिलेसम्म पनि जारी छ । धेरै लगानीकर्ता निष्कृय बस्दा नेप्से सूचकसँगै कारोबार रकम पनि सुस्त भइरहेको छ ।  बजारले समग्रमा बियरिस ट्रेन्ड समातेको भने करिब २६ महिना भएको छ । यसअघि करिब ३२ सय पुगेको बजारलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले नीतिगत कडाई गरेको थियो । त्यसपछि बजारको ओरालो यात्रा सुरु भएको हो । तर अहिलेसम पनि त्यतिबेला कसिएका नीतिहरु पूर्ववत् अवस्थामा फर्काइएको छैन ।  यता, धितोपत्र बोर्डले पछिल्लो समय हकप्रद र आइपीओको बाढी नै लगाएको छ । सप्लाई थपिएको थपियै छ भने डिमान्ड पक्ष निकै कमजोर छ, यसले पनि बजारमा थप दबाब पैदा गरेको जानकारहरु बताउँछन् । समग्रमा, घटेको बजार निश्चिय नै बढ्ने छ । तर नीतिगत अवरोध र चर्को ब्याजदरले थला परेको बजार तत्काल माथि जानका लागि यसअघि कसिएका सबै नीतिहरु पुनः पहिलाकै अवस्थामा फर्काउनुपर्ने हुन्छ । यस दिन २८९ कम्पनीको ३८ लाख १३ हजार कित्ता सेयर कारोबार भएको छ । ४ करोड ६२ लाख रुपैयाँसहित कारोबार रकममा हाथवे इन्भेष्टमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा जीआइसी इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् ।