सरकारले पहिलो पटक आजबाट गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । नेपालको संविधानमा भएको व्यवस्था बमोजिम नागरिकाता सम्वन्धी पछिल्लो कानुन अनुसार सरकारले गैर आवसीय नेपाली नागरिकलाई यस्तो नागरिकता प्रदान गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रममा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत भएको बताए । नागरिकता प्राप्त गरेपछि अध्यक्ष केसीले एक पटकको नेपाली सधैंको नेपाली भन्ने अभियान सार्थक भएको बताउँदै सरकारलाई धन्यवाद दिए । गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो । गैर आवसीय नेपालीलाई नगारिकता वितरणको शुभाराम्भ कार्यक्रममा बोल्लै प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको र धेरै संघर्ष गर्नुपरेको बताएका छन् । ‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गर्न हामीले निकै ठूलो मिहिनेत र संघर्ष गर्नु पर्यो । पचासौं लाख गैरआवासीय नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रबन्ध गरिएको छ र यो निकै ठूलो उपलब्धि हो ।’प्रचण्डले भने संविधानमा व्यवस्था भएपश्चात पनि कानुनी व्यवस्था गर्न फेरि अर्को ठूलै मिहिनेत र संघर्षै गर्नुपरेको र निकै ठूलो संघर्ष र मिहिनेतपछिमात्र यो सफल्ता हासिल गरेको प्रचण्डले बताए ।