इलिनोइसका एक ७१ वर्षीय पुरुष जोसेफ एम चुबालाई आइतवार घृणा अपराधको अभियोग लगाइएको छ । ती पुरुषमाथि इस्लामिक विश्वास र इजरायल हमास युद्धको कारणले एक बालकको छुरा प्रहार गरी हत्या गरेको र एक महिलालाई गम्भीर घाइते बनाएको आरोप लगाइएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले ३२ वर्षीया महिला र ६ वर्षीय बालकलाई शनिबार बिहान शिकागोको दक्षिणपश्चिममा रहेको प्लेनफिल्ड टाउनशिपको एक घरमा फेला पारेका थिए । बालकलाई अस्पतालमा मृत घोषित गरिएको थियो भने धेरैपटक चक्कु प्रहार गरिएकी महिला बाँच्ने आशा गरिएको छ । बच्चाको पोस्टमार्टमले उनलाई पनि धेरै पटक छुरा प्रहार गरेको देखाएको छ।

यो निर्मम हमलामा दुवै पीडितहरू मुस्लिम भएका कारण एवं हमास र इजरायलीहरू संलग्न रहेको मध्य पूर्वी द्वन्द्वका कारण संदिग्धले निशाना बनाएको पत्ता लगाउन सक्षम भएको प्रहरीले बताएको छ । महिलाले ९११ मा फोन गरी उनको घरवेटीले चक्कुले हमला गरेको रिपोर्ट गरेकी थिइन् । आफू बाथरुममा भागेको र छुरा प्रहार गर्ने घरवेटीको प्रतिरोध गरेको महिलाले बताएकी थिइन् ।

आक्रमणमा प्रयोग गरिएको चक्कु बाह्र इन्चको सेरेट गरिएको सैन्य शैलीको चक्कु हो जसमा सात इन्चको ब्लेड हुन्छ।

पोस्टमार्टमका अनुसार बालकलाई चक्कुले २६  पटक प्रहार गरिएको थियो भने महिलालाई पनि एक दर्जनभन्दा बढी छुराको चोट लागेको थियो । आक्रमणमा संदिग्ध व्यक्ति शनिबार घरबाहिर भेटिएको थियो । निधारमा चोट लागेको उक्त व्यक्ति ड्राइभवे नजिकै बसिरहेको अवस्थामा फेला परेको थियो ।

उक्त व्यक्तिलाई आइतबार हिरासतमा राखिएको थियो । र अदालतमा हाजिरीको पर्खाइमा रहेको अधिकारीहरुले जनाएको छ । उक्त व्यक्तिमाथि पहिलो डिग्री हत्या, पहिलो डिग्री हत्याको प्रयास, दुईवटा घृणा अपराध र घातक हतियारको साथ आक्रमणको आरोप लगाइएको छ।