दसैँलाई लक्षित गरेर सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने भएको छ ।

कम्पनीले विभिन्न जिल्लामा खसीबोकाको खरिद प्रक्रियासमेत सुरु गरिसकेकाले आइबार वा सोमबारसम्म उपत्यकामा आइपुग्ने जनाएको छ । खसीबोका आएको भोलिपल्टबाट बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । आठ करोड ३६ लाख रुपियाँ खसीबोका खरिद गर्नका लागि छुट्याएको कम्पनीले जनाएको छ ।

सरकारले दसैँमा उपभोक्तालाई राहत दिन खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ छुट दिएको छ । बजार मूल्य नियन्त्रण गरी उपभोक्तालाई सहुलियत दिन प्रत्येक वर्ष छुटमा बिक्री गरिन्छ ।

कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट खसीबोका र च्याङ्ग्राको बिक्री हुन्छ । दाङको तुलसीपुर, मकवानपुरको हेटौँडा, धादिङ, कैलालीबाट खसीबोका ल्याइँदै छ । यस्तै रसुवाबाट च्याङ्ग्रा आउने कम्पनीले जनाएको छ ।

दसैँमा उपत्यकामा यो वर्ष ४५ देखि ५० हजार रुपियाँको हाराहारीमा खसीबोका र च्याङ्ग्रा  खपत हुने अनुमान छ ।

दसैँमा सबैले अधिक मासुको उपभोग गर्ने भएकाले पनि उपत्यकामा धेरै खसीबोका बिक्री हुने गर्छ । देशका विभिन्न स्थानमा हुने स्थानीय उत्पादनले माग धान्न नसक्दा  छिमेकी मुलुक भारत र चीनको तिब्बतबाट समेत खसीबोका र च्याङ्ग्रा आयात हुने गर्छ ।