इलाम । इलामको रोङ गाउँपालिका–३ पाथिभरा मन्दिरमा उठेको ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ भेटी घोटाला भएको पाइएको छ । भेटीको अनियमितता छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको आम्दानी र खर्चबाट ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ घोटाला भएको देखिएको हो ।

छानबिन समितिले जिल्ला प्रशासन कार्यालयमा बुझाएको प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले ८८ लाखबढी रुपैयाँ घोटाला देखिएको बताए । ‘अहिले प्रतिवेदनले देखाएको आम्दानी रकम समितिकै जिम्मेवारीमा हुनुपर्छ,’ प्रजिअ पोख्रेलले भने । उनले यो प्रतिवेदन सार्वजनिक भएपछि प्रशासनले समितिलाई सो रकमका ’boutमा बोलाउने र प्रक्रिया अघि बढाउने बताए ।

जिल्ला प्रशासन कार्यालय इलामले गत २३ जेठमा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिमा गाउँपालिकाका तर्फबाट लेखापरीक्षक प्रज्वल अधिकारी थिए । तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेललाई प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनले आर्थिक वर्ष २०७५–०७६ देखि २०७९ माघ मसान्तसम्मको संस्थाको कुल आम्दानी, खर्च, बैंक मौज्दात गरी ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ नगद मौज्दात रहेको देखाएको भए पनि सो रकम कहाँ छ भन्ने प्रतिवेदनमा उल्लेख छैन । प्रतिवेदनले सो रकम कहाँ छ भन्ने उल्लेख नहुँदा घोटाला भएको नै हो भन्ने देखाउँछ ।

२५ दिनमा सक्नेगरी छानबिन समिति गठन भएपछि चार महिनापछि मात्रै छानबिन प्रतिवेदन सार्वजनिक गरेको हो । समितिले छानबिन प्रतिवेदन सार्वजनिक नगरेपछि यसअघि नै पालिकाले अध्ययन प्रतिवेदन सार्वजनिक गरिसकेको छ ।

राजधानी दैनिक बाट