काठमाडौं । सरकारले प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेका हुन् । प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ भने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । उक्त विधेयक संशोधनविना पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नेछ ।

सरकारले आधारभूत तहको शिक्षक बन्न कम्तीमा स्नातक र माध्यमिक तहको शिक्षक हुन स्नातकोत्तर तह उत्तीर्ण हुनुपर्ने प्रस्ताव गरेको छ । सरकारले संसद्‍मा दर्ता गरेको शिक्षा विधेयकमा शिक्षकलाई आधारभूत र माध्यमिक तहमा श्रेणी विभाजन गरिएको छ ।

हालसम्म प्राथमिक, निम्नमाध्यमिक र उच्च माध्यमिक तहको शिक्षक रहने व्यवस्था थियो । प्राविलाई कक्षा १०, निमाविलाई कक्षा १२ र मावि शिक्षकलाई स्नातक उत्तीर्ण गरेको हुनुपर्ने थियो । अब कक्षा ५ सम्म अध्यापन गराउने साधारण र कक्षा ६ देखि १२ सम्म अध्यापन गराउने शिक्षक विषयगत हुने व्यवस्था गरिएको छ ।

राजधानी दैनिक बाट