काठमाडौं । यसै वर्ष खुलेको एनएन टिभी यतिबेला गायनसम्बन्धी रियालिटी सो ‘लोक दोहोरी आइडल’को तयारीमा जुटेको छ । गायनसम्बन्धी रियालिटी सो नराखेसम्म मनोरञ्ज प्रधान टेलिभिजन सञ्चालन गर्न गाह्रो पर्न थालेपछि अन्य टेलिभिजनको सिको गर्दै एनएन टिभीले पनि ‘लोक दोहोरी आइडल’ गर्न लागेको हो ।

एनएन टिभीका सञ्चालक प्रभावन जे आफैंले लोक दोहोरी आइडललाई निर्देशन गर्दै छन् । आफू संगीतकार पनि भएको र मौलिक लोक दोहोरीको रियालिटी सोले टेलिभिजनलाई समेत स्थापित गर्ने भएकाले उनले यस कार्यक्रमको तयारी गरेका रहेछन् । प्रभावन जेको भनाइमा भदौबाट छायांकनमा जाने लोक दोहोरी आइडलका लागि हालसम्म २० वटा समूह तयार भइसकेका छन् । नेपालमा अधिकांश जनमानसले रुचाउने लोक दोहोरी गीत नै भएकाले यो रियालिटी सोले लोक दोहोरीमा उत्कृष्ट प्रतिभा जन्माउने विश्वास यी निर्देशक तथा संगीतकारको रहेको छ ।

यसै वर्ष खुलेको एनएन टिभी मात्र होइन, अहिले धेरैजसो टेलिभिजन च्यानलमा गायनसम्बन्धी रियालिटी सोको तयारी भइरहेको छ । केही टेलिभिजनमा गायनसम्बन्धी रियालिटी सो जारी छ भने केहीले धमाधम छायांकन गरिरहेका छन् । अहिले नेपालका टेलिभिजन च्यालनमा गायनसम्बन्धी रियालिटी सोको बाढी नै आएको आयोजकहरू स्विकार्छन् ।

यस्तै, केही वर्ष यताबाट सञ्चालनमा आएको योहो टेलिभिजनले पनि लोक दोहोरी गायनमै आधारित रहेर रियालिटी सो ‘दोहोरी आइकन’ सुरु गरेको छ । एजे इन्टरटेनमेन्टले काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै मंगलबारबाट यस सोका लागि अडिसन सुरु गरेको जनाएको छ । बुधबारसम्म एक दर्जन टिमले दोहोरी आइकनका लागि अडिसन दिइसकेको पनि आयोजक पक्षले जनाएको छ । चाबहिलको एजे स्टुडियोमा अडिसन सुरु भएको यस प्रतियोगिताको निर्णायकमा गायिका कोमल वली, गायकहरू पशुपति शर्मा र कुलेन्द्र विश्वकर्मा रहेका छन् ।

विजेता समूहले दोहोरी आइकनको उपाधिसहित २५ लाख रुपैयाँ पुरस्कार र वल्र्ड टुर अवसर पाउने यो रियालिटी सोलाई कलाकार पीएन सापकोटा र शोभा त्रिपाठीले होस्ट गरिरहेका छन् । केही महिनाबाट यो दोहोरी आइकन योहो टिभीबाट प्रसारण हुने भएको छ । यो रियालिटी सोले नेपाली संगीतमा प्रतिभावान् दोहोरी गायक–गायिका जन्मने विश्वास योहो टेलिभिजनका सञ्चालकहरूको रहेको छ ।

यस अघिदेखि प्रसारण हुँदैआएको गायनसम्बन्धी फ्रेन्चाइज रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ र ‘नेपाल आइडल’को पनि तयारी भइरहेको छ । भ्वाइस अफ नेपालका आयोजक तथा प्रस्तोता सुशील नेपालका अनुसार भ्वाइस अफ नेपाल ‘द भ्वाइस किड’को दोस्रो संस्करण हालै मात्र सम्पन्न भइसकेको छ । अब भने आफूहरू भ्वाइस अफ नेपालको नयाँ सिजनको तयारीमा जुटेको उनको भनाइ छ ।

भ्वाइस अफ नेपाललाई नेपालको नम्बर वान रियालिटी सो भएको दाबी गर्दै आएका सुशीलको भनाइमा यो रियालिटी सोले नेपाली संगीत क्षेत्रमा कयौं उम्दा गायक–गायिका जन्माइसकेको छ । ‘हामीले दूर दराजमा पुगेर गायनका प्रतिभालाई खोजेर ल्याई यस क्षेत्रमा स्थापित बनाएका छौं,’ सुशीलले भने, ‘नेपाल मात्र नभएर भारतको दार्जिलिङ, सिक्किम तथा विदेशबाट समेत गायन प्रतिभालाई ल्याएर यस क्षेत्रमा अघि बढाएका छौं ।’

हिमालय टिभीबाट प्रसारण हुँदैआएको भ्वाइस अफ नेपालको अब पाचौं शृंखला चाँडै नै सुरु हुनेभएको छ । आफ्नो रियालिटी सो सुरुमा घाटामा भए पनि पछिल्ला शृंखलाहरू विज्ञापनका कारण केही फाइदामा रहेको पनि सुशीलको कथन छ । पछिल्लो गायनसम्बन्धी अरु रियालिटी सो आए पनि आफूहरूको छुट्टै स्थान रहेको पनि उनले दाबी गरेका छन् । विज्ञापनसँगै भोटिङबाट पनि रियालिटी सोमा आम्दानी हुने कुरा यी आयोजकले स्विकारेका छन् ।

नेपालकै सबैभन्दा ठुलो पुरस्कार राशि भएको भनिएको गायनसम्बन्धी अर्को रियालिटी सो ‘मेरो भ्वाइस कप’ यतिबेला नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । आयोजक डिल्ली अधिकारीका अनुसार यो रियालिटी सोका विजेताले १ करोड रुपैयाँ पाउँदै छन् । मेरो भ्वाइस कप नेपालको चयन यही शनिबार गोदवरीमा हुने ग्रान्ड फिनालीबाट हुने पनि उनले बताएका छन् । ‘नेपालसहित विश्वभर रहेका नेपाली भाषी गायनका प्रतिभालाई प्रस्तुत गरेर उनीहरूलाई यस क्षेत्रमा स्थापित गर्न हामीले मेरो भ्वाइस कप गर्दैै आएका हौं र नृत्यका कलाकारलाई माथि उठाउन मेरो डान्स कप पनि यही कार्यक्रमसँगै गरिहेका छौं,’ तीन दिनअघि टोखामा आयोजित पत्रकार भेटघाटका क्रममा डिल्ली अधिकारीले भने, ‘यी दुवै प्रतियोगिताको यही शनिबार फाइनल रहेको छ ।’ अरु रियालिटी सोको उद्देश्य आर्थिक उपार्जन भए पनि आफूले नेपाली भाषी गायक–गायिकाहरूलाई विश्वव्यापी रूपमा लोकप्रिय बनाउन सबैभन्दा ठुलो धनराशिको यो प्रतियोगिता गर्दैआएको अधिकारीले जनाएका छन् । अमेरिकामा इन्टा फाउन्डेसन सञ्चालन गर्दैआएका भुटानी मूलका नेपाली भाषी अधिकारीले सोही फाउन्डेसनको आम्दानीबाट यो प्रतियोगिता गरिहेको पनि बताएका छन् ।

गायनसम्बन्धी नेपालको अर्को फ्रेन्चाइज रियालिटी सो ‘नेपाल आइडल’ हो । एपी वानबाट यसअघि चार शृंखला प्रस्तुत भइसकेको नेपाल आइडलको पाँचौं शृंखलाको अडिसन फर्म यही भदौ महिनामा खुल्नेभएको छ । नेपाल आइडलले पनि नेपाली संगीत क्षेत्रमा राम्रा प्रतिभा जन्माएर गायनमा स्थापित गरिसकेको आयोजक पक्षको दाबी छ । विगत ४ वर्षदेखि यो रियालिटी सो गर्दैआएको एपी वान टिभीलाई स्थापित गर्नुमा नेपाल आइडलको पनि त्यत्तिकै ठुलो देन रहेको छ । यस प्रतियोगिताका उत्कृष्ट १२ पछि भोटिङ सुरु हुने भएकाले विज्ञापनसँगै दर्शकको भोट पनि आयोजकका लागि आम्दानीको राम्रो स्रोत बनेको छ । यो रियालिटी सोमा पनि १ करोड रुपैयाँको भोटिङ हुनेगरेको छ ।

यसअघि एपी वानबाटै प्रसारण भएको लोक दोहोरीसम्बन्धी अर्को रियालिटी सो ‘लोक स्टार’ पनि यसपटक हिमालय टिभीबाट केही महिनाअघि प्रसारण भयो । निर्णायकका कारण निकै विवादमा परेको यो रियालिटी सोको तेस्रो संस्करण केही समयपछि हुनेभएको छ ।

यस्तै, इमेज च्यानलले यसअघि लोक दोहोरीसम्बन्धी नै गायन रियालिटी सो ‘लोक तारा’ आयोजना ग¥यो भने सोही च्यानलबाट गत वर्ष गायनसम्बन्धी रियालिटी सो ‘नेपाल सिंगिङ सुपर स्टार’ आयो । नेपाल सिंगिङ सुपर स्टारको दोस्रो सिजनको तयारीमा आयोजक रवि श्रेष्ठ जुटिसकेका छन् ।

यस्तै, गायनसम्बन्धी नेपहपको श्रीपेच, सिंगिङ स्टार, सारेगमप लिटिल च्याम्पस नेपालसहित अन्य थुप्रै रियालिटी सो पनि विभिन्न टेलिभिजन च्यानलबाट प्रसारण हुँदैआएको छ ।

यसरी नेपालमा गायनसम्बन्धी रियालिटी सोको बाढी नै आए पनि रियालिटी सोका विजेताहरू भने त्यति माथि उठ्नसकेका छैनन् । चाहे त्यो नेपाल ताराका विजेता हुन्, या भ्वाइस अफ नेपाल तथा नेपाल आइडलका विजेता नै किन नहुन् । विजेता बनेपछि केही समय आयोजकको सहयोगले गायनमा आए पनि त्यसपछि उनीहरू माथि उठ्न सकेका छैनन् । सबैभन्दा बढी दर्शकको भोट पाएर उनीहरू विजेता हुनेगरेका कारण पनि विजेता बनेपछि व्यावसायिक रूपमा अघि बढ्न नसकेका हुन् ।

गायनसम्बन्धी यस्ता रियालिटी सोमा उत्कृष्ट १० भित्र परेर उपाधि जित्न नसकी विभिन्न चरणबाट फालिएका कयौं गायक गायिकाहरू अहिले नेपाली संगीत क्षेत्रमा चम्केका छन् । तथापि, उनीहरूलाई यस क्षेत्रमा ल्याउने काम भने टेलिभजिनका गायनसम्बन्धी यिनै रियालिटी सोले गरिरहेका छन् । अहिले टिभीका लागि गायनसम्बन्धी रियालिटी सो टिआरपी बढाउनुका साथै आम्दानीको पनि राम्रो स्रोत बनिरहेको छ ।