काठमाडौं । मकवानपुरको मनोहरा गाउँपालिका–३ की ५० वर्षीया अप्सरा भनेर चिनिने नारायणी तिमिल्सिना हत्याका अभियुक्तलाई प्रहरीले केन्द्रीय कारागार सुन्धाराबाटै फेला पारेको छ । झन्डै ६ वर्षअघि नारायणीको हत्या गरेपछि प्रहरीबाट लुक्दैछिप्दै हिंडेका धादिङ मूलपानीका ४६ वर्षीय शिवराम अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केन्द्रीय कारागार सुन्धाराबाट फेला पारेको हो ।

चोरी मुद्दामा अर्कै नाममा कैद भुक्तान गरिरहेको अवस्थामा उनलाई फेला पारिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीले हत्या अभियोगमा पनि अब अनुसन्धान अगाडि बढाएको छ ।

उनी ३० पुस २०७४ सालमा काठमाडौंको बल्खुमा नारायणीको हत्या गरेपछि फरार रहँदै आएका थिए । नारायणी ज्यामी काम गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् । शिवराम पनि ज्यामी काम गर्ने गर्थे । अघिल्लो रात नै हत्या भए पनि भोलिपटक दिउँसो साढे ४ बजे मात्रै उनको शव भेटिएको थियो । टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा बल्खुको भुवनेश्वर मन्दिर पछाडि उनको शव फेला परेको थियो ।

घटनालगत्तै प्रहरीले उनको खोजी कार्य अघि बढाएको भए पनि प्रहरीले सफलता पाउन सकेको थिएन । यद्यपि, प्रहरीले खोजी कार्यलाई भने निरन्तरता दिइरहेको थियो ।

मृतक नारायणीको शरीर खानतलासी गर्दा सानो किप्याड मोबाइल फेला परेको थियो । घटना भएको दिन नारायणी र शिवरामको पटकपटक कुराकानी भएको भेटिएपछि शिवरामले नै उनको हत्या गरेको निष्कर्षमा प्रहरी टोली पुगेको थियो । मृतकले बोक्ने मोबाइलमा आफन्तको नम्बर फेला परेपछि आफन्तले उनको शवको सनाखत गरेका थिए । हत्यापछि लामो समयसम्म फरार रहेपछि शिवरामले नै नारायणीको हत्या गरेकोमा प्रहरी ढुक्क बनेको थियो ।

अनुसन्धानका क्रममा प्रहरी टोली शिवरामको परिवारका सदस्यसम्मसमेत पुगेको थियो । परिवारका सदस्यले शव भेटिएको अघिल्लो दिन २९ पुस २०७४ देखि घर पनि नआएको र आफूहरूलाई फोन पनि नगरेको प्रहरीलाई जानकारी गराएका थिए ।

उनी घटनापछि उदयपुरको कटारी गएर बसेको र आफूलाई खोजी गरिरहेको थाहा पाएपछि त्यहाँबाट सिराहाको मिर्चैया गएको खुलेको थियो । त्यसको केही दिनपछि उनी त्यहाँबाट मकवानपुर र त्यसपछि धादिङको सल्यानटार गएका थिए । खोजीकै क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली धादिङ पनि पुगेको थियो । पछिल्लो समय उनले काठमाडौंको रामकोट क्षेत्रमा तरकारी टनेल सञ्चालन गर्दै आएको सूचना प्रहरीले पाएको थियो ।

त्यसपछि प्रहरी टोली रामकोट क्षेत्र पुगेर उनको खोजी गरेको थियो । रामकोट क्षेत्रबाट भने प्रहरीले उनी’bout थप जानकारी पाउन सफल भएको थियो । त्यहाँ प्रहरीले शिवरामको फोटो देखाएर सोधखोज गर्दा पछिल्ला दिनमा उनी देखा नपरेको जवाफ स्थानीयले दिएका थिए । तर उनको परिवार रहेको टहरा भने देखाइदिएका थिए । लगत्तै प्रहरी उनको परिवार बस्दै आएको टहरा पुगेको थियो । त्यहाँ उनी फेला नपरेपछि प्रहरीले शिवरामकी श्रीमती नानिमाया अधिकारीको टेलिफोन ‘चेकजाँच’ गरेको थियो । सो क्रममा नानिमायाले केन्द्रीय कारागार सुन्धारामा निरन्तर सम्पर्क गरेको देखिएपछि प्रहरी टोली नै अचम्ममा परेको थियो ।

अनुसन्धानकै क्रममा प्रहरी टोली केन्द्रीय कारागार सुन्धारा पुगेर सोधपुछ गर्दा नानिमायाले फोन गर्ने व्यक्ति अर्जुन अधिकारी भन्ने रहेको पाइएको थियो । त्यसपछि प्रहरीले अर्जुन अधिकारी भनिएका व्यक्ति’bout आफन्तसँग सोधखोज गर्दा उनी थानकोटमा चोरी गर्दा पक्राउ परी केन्द्रीय कारागार सुन्धारामा थुनामा रहेको खुलेको हो । त्यसपछि प्रहरीले केन्द्रीय कारागारमा पत्राचार गरी उनका ’bout जानकारी माग गर्दा ६ कात्तिक २०७९ मा चोरी गर्दा गर्दै थानकोट प्रहरीले पक्राउ गरेको र २९ कात्तिकमा चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाई उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार पठाइएको र उनी यहीं रहेको जवाफ दिएको थियो ।

त्यसपछि भने प्रहरीले कारागारबाट अर्जुन अधिकारीको फोटो माग गरेका थिए । प्राप्त फोटो उनकी श्रीमती र त्रिपुरासुन्दरी गाउँपालिकाका प्रतिनिनिबाट सनाखत गराउँदा उनी अर्जुन अधिकारी नभई शिवराम अधिकारी रहेको खुलेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यालय प्रमुख एसएसपी डा. मनोजकुमार केसीका अनुसार उनी अहिले प्रहरी वृत्त कालिमाटीको हिरासतमा छन् । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटीमा पठाएको एसएसपी डा. केसीले जानकारी दिए । प्रहरीले उनीविरुद्ध पीडित पक्षको जाहेरी समेत लिइसकेको छ ।

राजधानी दैनिक बाट