इलाम । सदरमुकामबाट टाढा रहेको इलामको क्षेत्र नम्बर २ का बासिन्दाले स्वास्थ्य सेवामा अझ बढी सास्ती खेप्नुपरेको छ । फाकफोकथुम, माङ्सेवुङ, चुलाचुलीको साकफारा लगायतका गाउँहरूमा स्वास्थ्य केन्द्रहरू भए पनि दक्ष चिकित्सक र औषधि पर्याप्त नहुँदा स्वास्थ्य सेवामा समस्या भोगिरहेका छन् । बर्खामा कच्ची सडकबाट औषधि ढुवानीमा समेत समस्या छ भने बिरामीलाई उपचार गराउन झनै कष्ट खेप्नु परेको छ । यो क्षेत्रको मङ्गल’boutमा प्राथमिक स्वास्थ्य केन्द्र छ तर त्यहाँ आईपुग्नकै लागि समस्या हुने गर्दछ ।

नेम्बाङको निर्वाचन क्षेत्र : शिक्षा, स्वास्थ्य, विद्युत् र यातायातकै समस्या

क्षेत्र नम्बर २ का बासिन्दा मात्र होइन, सिङ्गो इलाम जिल्ला बासी स्वास्थ्य सेवाबाट बञ्चित छन् । सदरमुकामस्थित इलाम अस्पतालमा पूर्वाधार र उपकरणको खास अभाव छैन । तर, दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा जिल्ला बासीलाई उपचार गराउन समस्या छ । बाल विशेषज्ञ चिकित्सक चाहिँ सदरमुकामका अस्पतालमा समेत नहुँदा बालबालिका बिरामी भए झापा, मोरङ, धरान, विराटनगर वा भारतका अस्पताल पठाउनुपर्ने बाध्यता छ । यि समस्या यहाँका जनताले नराखेका भने होईनन । विगत लामो समयदेखि समस्या राख्दै आए पनि चुनावमा भोट माग्न आउँदा आस देखाउँछन् तर जितेर गएपछि फर्केर नहेर्ने गरेको गुनासो स्थानीयको छ ।

स्वास्थ्य मात्र होइन शिक्षा र यातायातको समस्या पनि यस क्षेत्रका बासिन्दाले सधैँ समस्यामै बिताउने गरेका छन् । हिउँदको समयमा धुलो र बर्खामा हिलोको समस्या वर्षेदेखि बिताइरहेका यस क्षेत्रका बासिन्दाको लागि अहिले पनि त्यही समस्या दोहोरिनु कुनै नौलो हैन । २०५६ साल यता पटक पटक निर्वाचन जिताइरहेका नेता अहिले पनि त्यही निर्वाचन क्षेत्रमै छन् । निर्वाचन जिते यता सधैँ राख्ने समस्या नै अहिले सम्म पुरा हुन नसके पनि अव यहाँका जनताले स्वास्थ्य शिक्षा र यातायातको सुविधा आउँछ भन्नेमा कुनै आशा छैन । बल्ल तल्ल विद्युत् पुगे पनि अझै धेरै जसो ठाउँमा विद्युत् पुगेको छैन । नेताको आशा हराएपछि यहाँका जनताले निजी लगानीमा विद्युत् उत्पादन गरेर बत्ती बालिरहेका छन् । फाकफोकथुम गाउँपालिका–३, आमचोककी पवित्रा परियार नेपाली गाउँमै अस्पताल, औषधि र चिकित्सक नहुँदा उपचार गर्न जोखिम मोल्नुपरेको गुनासो गर्छिन् । ‘यहाँबाट टाढाको अस्पतालमा बिरामी लैजानुपर्ने बाध्यताले बिरामी अस्पताल पुग्छ कि पुग्दैन भन्ने त्रास त छँदै छ अस्पताल पुगेपछि त्यहाँ राखेको खर्च त झन् भनिसाधे छैन । ’

गाउँमा ‘चुनाव लागेको बेला यो गरिदिन्छु, त्यो गरिदिन्छु भनेर सपना देखाउने उम्मेदवार दिनहुँ जसो घर–घर पुग्ने गर्दछन् । तर ‘अहिलेसम्म जसले चुनाव जितेर गए, अरू काम त गरे होलान् तर अत्यावश्यक बेलामा गाउँमै राम्रो उपचार हुने व्यवस्था चाहिँ गर्न सकेनन्,’ उनी भन्छिन्, ‘गाउँमा कम्तीमा राम्रो औषधि र उपचार पाइए न अकालमा ज्यान जान्थ्यो, न यहाँबाट कोही बसाइँ हिँड्दै आफैँले जिताएका नेतालाई गालिनै गर्नु नै पथ्र्यो । ’ बिरामी पर्दा अक्सिजन, पानीको बाफ लगाउने मेसिनको त कुरै नगरौँ, सामान्य ज्वरो आउँदा खानुपर्ने राम्रो गुणस्तरको औषधिसमेत गाउँमा नपाइएको पवित्राको दुखेसो छ ।

आमचोकमात्र होइन, फाकफोकथुम गाउँपालिकाभर नै सडक, शिक्षा, खानेपानी, बिजुलीजस्ता अत्यावश्यक सुविधा पुगेको छैन । कालोपत्रे सडक नभएको यो क्षेत्रमा हिउँदभर गाडी चल्छ, बर्खा लागेपछि सधैँ समस्या हुने गर्दछ ।

फाकफोकथुमकै दुर्गाप्रसाद दाहाल राजनीतिक दलका उम्मेदवार चुनावमा गाउँमा भोट माग्न मात्र आउने गरेको सुनाउँछन् । भोट माग्न आउँदा राखेका समस्या समाधान गर्ने आशा त दिन्छन् चुनाव जितेपछि फर्केर पनि हेर्दैनन् उनले भने, ‘के–के न हुन्छ भनेर दलका नेतालाई जिताइयो, गर्न त गरे होला तर हामीजस्ता सर्वसाधारणले कहिले गाउँमै उपचार पाउने ? कहिले गाउँका सडकमा हिउँद–बर्खै गाडी चढ्न पाउने ? कहिले हाम्रो आँगनमा धारो बन्ने र पानी आउने ?’

उनले गाउँमा प्रसूति हुने महिलाको उपचारमा अत्यन्त ठुलो समस्या भइरहेको बताए । ‘यो गाउँमा सुत्केरी हुने बिरामी कि अस्पताल नपु¥याइ सुत्केरी हुन्छन् कि बाटैमा मर्छन्,’उनले भने, ‘एउटा मात्रै भए पनि पक्की बाटो भइदिएको भए, एउटा मात्र भरपर्दो अस्पताल र डाक्टर भइदिएको भए यो दुर्दशा हुने थिएन ।’

चुलाचुली गाउँपालि वडा नम्बर ६ को साकफारा गाउँ अझै रातमा उज्यालोको पर्खाइमा रहेको छ । गाउँका केही घरमा सोलर बत्ती राखिएको छ त सीमित क्षेत्रमा लघुविद्युत सञ्चालनमा ल्याइएको छ भने केही बस्तीका नागरिक अझै पनि टुकीको भरमा रात काट्न बाध्य छन् । त्यहाँको मावा तोरी बारी, कर्केनीटार, सिके, सिस्ने टार,फुङनाम, कोलबोटे, आसेटार, साकफारा सुनारे, दशमी, कालापानीलगायतका गाउँमा केन्द्रीय प्रसारणको विद्युत् बिस्तार हुन सकेको छैन । धेरैजसो चुरे क्षेत्रको कठिन भूगोलमा पर्ने ती गाउँको वर्षा याममा तीन महिना बजारसँग सम्बन्ध विच्छेद हुन्छ । वडाध्यक्ष दिल कुमार राईले वडाको केही क्षेत्रमा लघु जलविद्युत , पेल्टीसेट र सोलर बाट बिजुली बाल्ने गरिएको भए पनि केन्द्रीय प्रसारणको लाइन पूर्ण रूपमा बिस्तार नभइसकेको बताए । भूगोलका हिसाबमा समेत अन्य बडा भन्दा ठुलो र अफ्टयारो भएको समेत यस वडामा समस्या रहेको उनको भनाइ छ ।

मधु मल्ला, तोरीवारि, फुङ्नाम हुँदै रवि सडक २०२६ सालमा शिलान्यास गरेको बाटो २०२९ सालमा सिक्रे ठाउँसम्म ट्रयाक खोलिएको बताइएको छ । धेरै कष्टका साथ केही वर्षअघि मात्र तोरी बारीदेखि पाँचथर दारे गौणा सिमानासम्म करिब ३० किमी दूरी रहेको बाटोको ट्रयाक जोड्न सफल भएको स्थानीय दीपक श्रेष्ठको भनाइ छ ।

भूगोलका हिसाबले समेत जिल्लाको सदरमुकामबाट सबैभन्दा टाढा र विकट मानिन्छ यो क्षेत्र । दुःखले हिउँदमा मोटर गुड्ने सो सडकमा बर्खामा ठप्प हुन्छ । त्यस गाउँसम्मको यात्रा गर्दा आङ नै सिरिङ्ग हुने सो सडक चुरेको पहाडको टुप्पोबाट खोलिएको छ । पिठ्युँमा भारी थाप्लोमा नाम्लोको भरमा पैदल आउन जान दोहोरो भारी दुई दिन लाग्ने उकालो, ओरालो र खोलाको बाटो हुँदै, चारदेखि सात पुस्ताले जीवन सङ्घर्ष गरेका फुङ्नाम र आसेटारका बुढापाका बताउँछन् । ‘पश्चिमबाट जाँदा लुवा, बुवा, नुनसरी खोला तरेर मोरङ टाँडीको साखरे हुँदै, पूर्वबाट मावा खोलाखोलै पैदल हिँडेर मधु मल्ला बजार कुचो, अदुवालगायत उत्पादन बेच्न पु¥धाउनुपर्ने अनि फर्किँदा खाने नुन, तेल, चामल लगायतको भारी लिएर फर्किनु पर्दाको बाध्यता केही हटे पनि दीर्घकालीन सडक नबन्दा हिउँदमा सहजको अनुभूति हुने गरे पनि बर्खामा उही पीडा दोहोरिने गरेको स्थानीयको दुखेसो छ । राजनीतिक पौच नभएको ग्रामीण ठाउँमा बाटो बनाउने सपना अझै बाँकी नै रहेको स्थानीय दुर्गा नेपालीको भनाई छ । साकफारा, फुङ्नाम, आसेटारको जनता कम्मर कसेर लागेको बाटो सबैभन्दा छोटो दूरीमा जनतालाई सेवा दिने बाटो हो, पर्यटकीय क्षेत्र मिक्लाचोङ छुट्ने बाटो कुनै पुल बिना पाँचथरको सिमानासम्म पुग्नसक्ने बाटो भए पनि नेताहरूले चासो नदेखाएको कारण दुख पाइरहेको गुनासो छ ।

फाकफोकथुमका जनताले स्थानीय खोलाबाट लघु जलविद्युत निर्माण गरेर सञ्चालन गरेका छन् । पाँच वटा साबिकका गाविस रहेको फाकफोकथुममा पाँचै वटा लघुजलविद्युत सञ्चालन भएका छन् । जसका लागि चार वर्ष सम्म श्रमदान त गरे–गरे, प्रतिघर ४० हजार रुपैयाँ भन्दा बढी लगानीमा गाउँ उज्यालो बनाए । जसले गर्दा फुएतप्पा, आमचोक, कोल्वोटे र एकतप्पा साबिकका चार गाविस उज्याले देखिन्छन् भने अन्य ठाउँ ठाउँमा पेल्टिसेटबाट उज्यालो देखिरहेको छ । त्यहाँ सञ्चालन भएका जलविद्युतको व्यवस्थापन गर्ने कर्मचारीलाई मासिक प्रतिघर दुई सय रुपैयाँ भन्दा बढी रकम उठाएर तलब खुवाई रहेका छन् । त्यति मात्र होइन सञ्चालन भई रहेका लघु जलविद्युतका सामान बिग्रिँदा प्रत्येक घरबाट रकम उठाएर मात्र सामान खरिद गर्नुपर्ने हुन्छ । कतिपय सामान विदेशबाट मगाउनु पर्ने हुँदा महिना दिन सम्म पनि अन्धकार हुने गर्दछ । बर्खाको समयमा भेल र बाढीको कारण कुलोमा समस्या आउँदा पनि खेती पाती नभनी श्रम गर्न जानुपर्छ नत्र बेलुका बिजुली आउँर्दैन । यहाँ निर्माण गरिएका लघु जलविद्युत सञ्चालन भएको ११ वर्ष बितिसकेको छ ।

यस निर्वाचन क्षेत्रबाट २०५६ सालयता निरन्तर प्रतिनिधिसभाको चुनावमा विजयी भएका नेता नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले प्रतिनिधिसभाको गत निर्वाचनमा भोट माग्न आउँदा पहिलो चुनाव जितेका बेला यो क्षेत्रमा एकै किलोमिटर सडक नभएको, एउटा बिजुलीको बल्ब नझुन्डिएको, २ वटा टेलिफोन लाइन रहेकामा एउटा चाहिँ बिग्रिएको अवस्था रहेको भन्दै अब यो क्षेत्रमा नयाँ सडक आवश्यक नभएको तर आफ्नै पहलमा सुरु भएका दर्जनौँ सडक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले इलाम अस्पतालको पूर्वाधार विकास, चिकित्सक व्यवस्थापन र नियमित सेवादेखि मंगल’boutमै ५० शैयाको अस्पतालसम्मको प्रतिबद्धता समेत गरेका थिए । तर निर्वाचन जितेपछि उनले गरेका बाचा ज्यूका त्युँ त छँदै छन् उनी काठमाण्डौमा ढुक्कसाथ बसिरहेका छन् ।

राजधानी दैनिक बाट