काठमाडौं । चाँडै नै तीज कार्यक्रमको लागि अष्ट्रेलिया तथा युरोपका विभिन्न देश जान लागेकी गायिका सुनिता दुलालले आफ्नो नयाँ तीज गीत ‘पियारी’ सोमबार सार्वजनिक गरेकी छिन् । काठमाडौंमा एक समारोहबीच उनले यो गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

समारोहमा अग्रज देखि नयाँ पुस्तासम्मका ९ कलाकारलाई सुनिताले तीजको उपहार स्वरुप रातो सारी तथा पछ्यौरी प्रदान गरिन् । गायिकाहरु तारा थापा, देविका बन्दना, माण्डाबी त्रिपाठी, रचना रिमाल, अभिनेत्रीहरु लक्ष्मी गिरी, पल्पसा डँगोल, पूर्व मिस नेपाल उषा खड्गी, मोडल लक्ष्मी जोशीलाई सारी सहित तिजको सामग्री उनले प्रदान गरेकी हुन् ।

सुनिताको नयाँ तीज गीतलाई दीपक शर्माले शब्द रचना तथा संगीत गरेका हुन् । गीतको भिडियोमा दीपाश्री निरौला, लक्ष्मी गिरी, नीर शाह, लक्ष्मी जोशी र सुनिता दुलाल स्वयम्ले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई सुनिताले आफ्नै अफिसियल युट्युव च्यानलबाट रिलिज गरेकी छिन् ।

हरेक वर्षझै यसपटक पनि आफुले मौलिक भाकामा तीज गीत बजारमा ल्याएको सुनिताले कार्यक्रममा बताईन्,‘भदौबाट तीज कार्यक्रमको लागि बिदेश यात्रामा निक्लन लागेकाले हतारमा तयार गरेर यो गीत र भिडियो बजारमा ल्याएको हुँ । गीतलाई मौलिक बनाउन दीपक शर्मा र मैले कुनै कसर बाँकी राखेका छैनौं ।’ उनले कार्यक्रममा भनिन् ।