काठमाडौं । कोसीमा उद्धव थापा फेरि मुख्यमन्त्री बन्ने भएका छन । उद्धव थापालाई  मुख्यमन्त्री बनाउन कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् ।

सभामुख हुँदै मुख्यमन्त्रीमा उद्धव थापालाई समर्थन गरेपछि उनका विषयमा विवाद भएको थियो । त्यही विवादको कानुनी प्रश्न लिएर नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेपछि थापाको सरकार नै ढलेका थियो ।

सरकार नै बन्न नसक्ने अवस्थामा समेत सहयोग गर्न नपाउने अवस्था र सभामुखका रुपमा विवादमा तानिइसकेको अवस्थाका कारण आफूले सभामुख पद त्याग्ने निर्णय गरेको गौतमले बताएका छन् ।

काठमाडौंमा रहेका गौतम उपसभामुखलाई राजीनामा इमेल गरेर विराटनगर फर्किएका छन् । अब उनी नेकपा (माअ‍ोवादी केन्द्र)को संसदीय दलको सदस्य भएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका संसदीय दलका नेताले हस्ताक्षर गरी उद्धव थापालाई नै मुख्यमन्त्रीमा समर्थन गर्ने र थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री प्रस्ताव गर्ने कार्यक्रम रहेको छ ।

“हामी चार दलका नेताहरुले समर्थन जनाएपछि अब सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ,” माओवादी एक सांसदले अग्निज्वालासँग भने, “उद्धव थापा नै मुख्यमन्त्री बन्नुहुनेछ ।”