कोशीमा एमाले सरकार ढल्यो,नयाँ सरकार गठन गर्ने बाटो खुल्यो
कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् । कोशी प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुख सहित) १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् । कार्कीलाई विश्वासको मतको पक्षमा एमालेका ४० र राप्रपाको ६ सांसदलेमात्रै समर्थन गरेका छन् ।
कार्की गत मंसिरमा भएको निर्वाचनपछि पुस २४ मा मुख्यमन्त्री निर्वाचित भएका थिए । कार्की नेतृत्वको सरकारले प्रदेशसभामा विश्वासको मत नपाएसँगै अब नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नेछन् । तर कांग्रेस माओवादीलाई समेत सरकार गठन गर्न र टिकाउन पुग्ने बहुमत सांसद नभएकाले अन्योल भएको छ ।