काठमाडौं । देशका विभिन्न जिल्लाका मालपोत कार्यालयले पुँजीगत लाभकर संकलन गर्दा व्यापक अनियमितता गरेका छन् । ती कार्यालयले मिलेमतो गरी २ करोडबढी पुँजीगत लाभकर छुट दिएर राज्यकोषलाई घाटा पारेका हुन् ।

मालपोत कार्यालय ललितपुर, चाबहिल र भैरहवाले मात्रै आर्थिक वर्ष २०७७÷७८ मा जग्गा रजिस्ट्रेसनका क्रममा राज्यकोषमा दाखिला गर्नुपर्ने २ करोड १५ लाख पुँजीगत लाभकर कम उठाएका हुन् । ती कार्यालयले सो वर्ष ७५ करोड २२ लाख ४७ हजारको घरजग्गा किनबेच गर्दा २ करोड १५ लाख पुँजीगत लाभकर कम लिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयमा व्यापक अनियमितता

महालेखापरीक्षकको कार्यालयका अनुसार ललितपुर, चाबहिल र भैरहवा मालपोत कार्यालयमा ४१ निसर्गकर्ताले पाँच वर्षभन्दा कम अवधि स्वामित्व भएको जग्गा निसर्ग गर्दा ५ प्रतिशतका दरले पुँजीगत लाभकर असुल गर्नुपर्नेमा २ दशमलव ५ प्रतिशतका दरले मात्रै असुल गरेकाले निसर्ग रकम ७५ करोड २२ लाख ४७ हजारमा २ करोड १५ लाख पुँजीगत लाभकर घटी असुल भएको हो ।

महालेखापरीक्षकको कार्यालयले त्यसरी घटी भएको पुुँजीगत लाभकर असुल गर्न सम्बन्धित मालपोत कार्यालयलाई निर्देशन दिएको छ । सो कार्यमा सहभागी कर्मचारीलाई कारबाही गर्नुपर्ने देखिन्छ । यसैगरी, मालपोत कार्यालय सिरहाले पनि आव २०७५÷७६ मा १४ निसर्गकर्ताले पाँच वर्षभन्दा कम अवधि स्वामित्व भएको ३ करोड २६ लाख ६० हजार मूल्यको जग्गा निसर्ग गरेकामा १५ लाख ८५ हजार पुँजीगत लाभकर असुल नगरेको पाइएकाले सो रकम तत्काल असुल गर्न महालेखाले सरकारलाई निर्देशन दिएको छ ।

थैली राख्नेक्रममा ५ करोड छुट
मालपोत तथा भुमिसुधार कार्यालय कलैयाले समेत थैली राख्नेक्रममा ५ करोडबढी अनियमितता गरेको महालेखाले ठहर गरेको छ । महालेखाका अनुसार सो कार्यालयले आर्थिक वर्ष २०७५-७६ मा ३६ निसर्गकर्ताले २ सय ६६ लिखतमा १ करोड २२ लाख ४३ हजार रजिस्ट्रेसन दस्तुर तथा १ करोड ३ लाख ७३ हजार पुँजीगत लाभकर र आव २०७७÷७८ मा १ करोड ४० लाख ३० हजार रजिस्ट्रेसन दस्तुर र १ करोड ५६ लाख २६ हजार पुँजीगत लाभकर गरी ५ करोड २२ लाख ७२ हजार राजस्व छुट दिएको पाइएको छ । महालेखाले सो रकमसमेत असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ ।

राजधानी दैनिक बाट