काठमाडौं ।सरकारले सांसदलाई ५ करोडका दरले बजेट दिने घोषणा गरे लगत्तै महानगरका मेयर बालेन्द्र शाहले सांसद भन्दा काठमाडौंका वडाअध्यक्षलाई बजेटका हिसाबले पावरफुल बनाएका छन । संघीय सरकारले सांसदलाई आगामी आर्थिक वर्षको बजेटमार्फत दिएको रकमभन्दा महानगरपालिकाले वडालाई धेरै बजेट विनियोजन गरेको छ ।

यस अघि सरकारले सांसदलाई ५ करोडका दरले बजेट दिने घोषणा गरे लगत्तै महानगरका मेयर बालेन्द्र शाहले वडा अध्यक्षको लेबलमा आएको र वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद हुनु भन्दै कटाक्ष गरेका थिए ।‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनुभयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरु’ शाहले भनेका थिए ।

उनै मेयर शाहले महानगरका लागि आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा केही योजना तथा कार्यक्रम वडा तहबाट नै सञ्चालन गर्ने गरी २ अर्ब ७५ करोड ५३ लाख ७४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा भनिएको छ ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ मा व्यवस्था भएको वडा समितिको काम, कर्तव्य र अधिकारलाई अझ प्रभावकारी र नागरिकमैत्री हुने गरी प्रचलन गराउन केही योजना तथा कार्यक्रम वडा तहबाट नै सञ्चालन हुने गरी कुल २ अर्ब ७५ करोड ५३ लाख ७४ हजार रकम विनियोजन गरेको छु ।’ यस अनुसार महानगरले ३२ वडाका लागि प्रतिवडा ८ करोड ६१ लाख ५ हजार ४३७ रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारले भने प्रत्येक सांसदलाई ५ करोडका दरले उपलब्ध गराउने घोषणा गरेको छ ।