माओवादी आन्दोलनविरुद्ध चर्का भाषण गर्दै आएका पूर्वपञ्चहरुको पार्टी राप्रपाका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीको पछिल्लो अभिव्यक्तिको माओवादी नेताहरुले कडा प्रतिवाद गरेका छन्।

राजतन्त्र फर्काउने भन्दै विगतदेखि नै अभियान चलाउँदै आएका र अहिले सांसद बनेका शाहीले अस्ति प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सामुन्ने उभिएर माओवादी जनयुद्धलाई आपराधिक युद्धको संज्ञा दिएका थिए । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक प्रतिनिधिसभामा संसदमा प्रस्तुत हुँदा विरोधको सूचना दिएका शाहीले अपराधीलाई उन्मुक्ति दिन विधेयक ल्याइएको टिप्पणी गरेका थिए ।

त्यसक्रममा उनले विधेयक मानव अधिकारका विश्वव्यापी मान्यताविरुद्ध रहेको दाबी गर्दै फिर्ता गर्न माग गरेका थिए । युद्धकालीन घटनालाई फौजदारी मुद्दासँग जोडेर उनले चर्को अभिव्यक्ति दिएपछि आक्रोशित भएका माओवादी नेताहरुले सामाजिक सञ्जालबाट जवाफ फर्काएका हुन् । नेता हिमाल शर्माले शाहीलाई सम्हालिएर बोल्न सुझाएका छन् ।

आफूलाई मानव अधिकारको पक्षमा उभ्याएका शाहीलाई शर्माले दरबार हत्याकाण्डका अभियुक्तलाई राजा घोषणा गर्दा मानव अधिकार रक्षा भयो कि भएन भनेर प्रश्न पनि गरेका छन् । उनले फेसवुकमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाही भाई तपाई धेरै नकुर्लेकै राम्रो ! दरवार हत्याकाण्ड युवराज दिपेन्द्रले गरायो भन्छौ हैन र ? अनी तिनै हत्यारा भनिएका दिपेन्द्रलाई मृत्यु शैयाबाट किन राजा घोषणा गरेको त ? एक पटक सोध्नु त तपाईको आदर्शलाई !’

यसलाई राजतन्त्रात्मक व्यवस्थाको भद्दा मजाक भनेका माओवादी नेता शर्माले त्यो बेला जस्तो अपराध गरे पनि राजदरवारका सदस्यहरुले उन्मुक्ती पाउने र कानुनभन्दा माथि राख्ने गरिन्थ्यो भन्ने एउटा दृष्टान्त होईन र ? भनि सोधेका छन् ।

२४० वर्षे राजतन्त्रात्मक व्यवस्थामा राजा र उत्तराधिकारी बन्न थुप्रै काण्ड घटेको भन्दै उनले अहिले ठूला कुरा गर्नुको अर्थ नहुने बताएका छन् । ‘ईतिहास पढेको सबैलाई थाहा छ, २४० बर्ष राजतन्त्रात्मक व्यवस्थामा राजा र उत्तराधिकारी बन्न कति कति काण्ड घटे ! आज जनताका छोराछोरी जो सुकै होस् राष्ट्रपती बन्न पाउने अधिकार पाएका छौ  ! यो उपलब्धीको सम्मान गरौ ! संयम भएर बोलौ !!’