काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बुधबारदेखि अभियुक्तहरुको तर्फबाट कानुन व्यवसायीले बहस गरेका हुन् ।

अभियुक्तमध्येका केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सुरु गरेका हुन् । भट्टराईले तत्काल प्राप्त प्रमाणका आधारमा दुलाललाई पूर्पक्षका लागि साधारण तारेखमा छाड्न माग गर्दै बहस गरेका हुन् ।

भट्टराईपछि दुलालको पक्षमा अधिवक्ताहरु विकास थापा, राजन भट्टराई, नरेन्द्र योगी र वरिष्ठ अधिवक्ता विश्वास आचार्यले बहस गरे ।

त्यस्तै, अर्का अभियतुक्त सानु भण्डारी र टंक गुरुङको तर्फबाट संयुक्त रुपमा अधिवक्ताहरु विनोद शर्मा, चुडामणी पोख्रेल, शिवप्रसाद रिजाल, साधुराम सापोटा, शरदप्रसाद कोइराला, षडानन्द कँडेल र नीरसिंह कुमार खत्रीले बहस गरे ।

‘सानुले टोपबहादुरलाई ४० लाख दिएको भनिएको छ घुस नै खानु परेको भए टोपबहादुरले ४० लाखमा चित्त बुझाउनु हुन्थ्यो त श्रीमान् २० करोड दिँदा  सानु भण्डारीले प्रेमकुमार राईलाई गाडीमा पैसा हालिदियो भनेको छ,’ बहसका क्रममा कानुन व्यवसायीले भनेका छन्, ‘प्रेमकुमार राईले त्यो पैसा कहाँ लानु भयो त सीसीटीबाट त पत्ता लाग्ला नि। २२४ पानाको अभियोगमा कहाँ पुष्टि हुन्छ सानुको संलग्नता अभियोग लगाउने पक्षले ल्याओस्।’