भूकम्पको कथा बोकेको ‘नीरफूल’

काठमाडौं । भूकम्पपछि धादिङ रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने दम्पतिको संघर्षमाथि बनेको चलचित्र ‘नीरफूल’ रिलिज संघार छ ।

सञ्चारकर्मीसमेत रहेका फुलमान बलद्वारा निर्देशक सो चलचित्र आगामी २६ जेठबाट रिलिज हुँदै छ । ट्रेलर सार्वजनिकसँदै रिलिज मिति घोषणा गरिएको हो । दुई वर्षअघि नै ‘नीरफुल’ रिलिज गर्ने भनिए पनि कोरोनाका कारण लकडाउन भएपछि रोकिएको थियो ।

उपचार गर्न पठाइएकी बालिका र उनकी आमा हराएपछि उनीहरूको खोजीका लागि गरिएको संघर्ष ‘नीरफूल’मा देखाइएको छ । २०७२ को महाभूकम्प र ‘फ्यामिली मिसिङ’ कथामा समेटिएको छ ।

निर्देशक बल भूकम्पले भत्काएका ‘मन’हरूलाई चलचित्रमार्फत जोड्ने प्रयास गरिएको बताउँछन् । ‘भूकम्पपछि भौतिक पुनर्निर्माण त भयो, तर भत्किएका सम्बन्ध पुर्नर्निमाण हुन अझै बाँकी छ,’ उनी भन्छन्, ‘तिनै भत्किएका सम्बन्धहरूको सानो कथा बोकेको छ, चलचित्रले ।’

अभिनेता दयाहाङ राई ‘स्क्रिप्ट’ लोभलाग्दो भएको प्रतिक्रिया दिन्छन् । व्यस्तताबीच समय निकालेर रुवी भ्याली पुगेको स्मरण गर्दै उनले थपे, ‘यसमा मेरो अन्य चलचित्रमा भन्दा निकै फरक भूमिका छ ।’

‘चलचित्रमा समाज आएन, कन्टेन्ट आएन’ भन्ने आरोप नेपाली चलचित्रकर्मीलाई लागिरहेको बेला ‘नीरफूल’ले ‘त्यो अभाव पूर्ति गर्ने’ उनको विश्वास छ ।

‘नीरफूल’मा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीलगायत र अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् ।

नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्रमा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा पनि देखिँदै छन् ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको ‘नीरफूल’मा निर्माताका रूपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ छन् ।

धादिङ रुवीभ्याली, रसुवा स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको चलचत्रिको एसोसियट निर्देशक सचिन घिमिरे रहेका छन् । यसलाई प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *